लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको दुरगामी सहकारी डुबाएर अध्यक्ष, सचिव टाप : पीडितको दुखेसो

IMG

डिंगरनगर । करिब दुई हजार सदस्य रहेको तिलोत्तमा नगरपालिका-३ स्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहीन भएपछि बचतकर्ताले कार्यालय घेराउ गरेका छन् ।साढे दुई दशक पुरानो यो सहकारीले बचत तथा ऋणसँगै दुग्धजन्य पदार्थ बिक्री वितरण गर्दै आएको थियो । मंगलबारदेखि सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री मोबाइल अफ गरेर सम्पर्कविहीन भएको घेराउमा आएका बचतकर्ताले बताएका छन् ।


रकम अपचलनको सूचना बाहिरिएपछि समितिका पदाधिकारी, सल्लाहकार बसेर आन्तरिकरूपमा सल्टाउने प्रयास गरेका थिए । वडाध्यक्ष कल्याण पौडेलका अनुसार सहकारीको संकट समाधानका लागि बसेको बैठकमा भएको सहमति अध्यक्ष र सचिवले च्यातेर हिँडेको स्थानीयले सूचना दिएका छन् ।‘राम्रो चलेको सहकारी थियो । तर, भित्रभित्रै अनियमितता भएको रहेछ, केही दिनअघि सञ्चालक समितिको बैठकले सबैले धितो दिने र अध्यक्षले रकम निकालेर बचतकर्ताको रकम फिर्ता दिने सहमति गरेर उठेका रहेछन्, अध्यक्ष सचिवले त्यो समझदारी मंगलबार च्यातेर सम्पर्कविहीन भएको सूचना पाएपछि प्रहरीसँग सहयोग माग्यौं’, वडाध्यक्ष पौडेलले भने ।


मंगलबार राति कार्यालयमा ताला लगाई प्रहरीलाई जिम्मा दिइएको उनले सुनाए । पदाधिकारी, सञ्चालक सबै स्थानीय भएकोले समस्या समाधान गर्न सकिने भएपनि अध्यक्ष र सचिवले समन्वय नगर्दा समस्या परेको उनले सुनाए । उनका अनुसार सहकारीमा १९ सय सदस्य छन् । त्यसमध्ये ११ सय ऋणी र ९ सय बचतकर्ता छन् ।सहकारीको आफ्नै भवन, विभिन्न ९ स्थानमा वितरण केन्द्र भएपनि पछिल्लो समय पदाधिकारीले बिनाधितो आफू निकटलाई लगानी गरेकाले समस्या आएको स्थानीय बताउँछन् । बचतकर्ता माधव पन्तले भने, ‘मेरो साढे ३ लाख बचत छ, हिजोदेखि तालाबन्दी गरिएको सुनेपछि चिन्ता लागेको छ ।’


निरास देखिएकी अर्की बचतकर्ता विनिता पोखरेलले स्थानीयलाई विश्वास गरेकोले समस्यामा परेको बताइन् । बुटवल देवीनगरका उमाकान्त चापागाईँले १५ लाख ऋण लिएको बताउँदै लालपुर्जा निकाल्न आएकोमा कार्यालय बन्द हुँदा अलमलिएको बताए ।स्थानीय कोपिला खनालले ५ वर्षदेखि बचत गरेको सवा लाख रकम निकाल्न नपाएको बताइन् । अर्की पीडित गीता चापागाईं लामिछानेले छोराको ४ लाख र आफ्नो डेढ लाख फसेको बताइन् ।इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले पीडितहरू निवेदन लिएर आएको तर रजिष्टार कार्यालयबाट आएपछि मात्रै प्रक्रियामा लैजाने बताए । उक्त सहकारी प्रदेश रजिस्टार कार्यालयमा दर्ता भएकोले पीडितहरू देउखुरी जाने तयारीमा छन् ।

कमेन्ट गर्नुहोस्