
बुटवल। “लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियान” लुम्विनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बाके , बर्दिया ,रोल्पा,दाङ ,अर्घाखाँची,गुल्मी, पाल्पा, कपिलवस्तु,रूपन्देही जिल्लाबाट करिब ३० जनामा जनप्रतिनिधी ,महिला नेताहरु, महिला मानव अधिकार रक्षकहरू, सञ्चारकर्मीहरू, सामाजिक अभियन्ता र संस्थागत प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले महिला अधिकारको सुनिश्चितता र लोकतन्त्रको रक्षाका लागि सबै तहमा संगठित खबरदारी र साझा दबाब अभियानको खाँचो रहेको कुरा प्रस्ट रूपमा उठाएका थिए ।
लोकतन्त्र र महिला अधिकारका लागि दबाव अभियानका संयोजक डा. रेणु अधिकारीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा वर्तमान राजनीतिक नेतृत्वको उदासिनता र त्यसले नागरिक अधिकार र लोकतान्त्रिक अभ्यासमा पारिरहेको प्रतिकूल प्रभावप्रति चिन्ता व्यक्त गर्दै, लोकतन्त्रमा विश्वास राख्ने महिलाहरू एकजुट भएर स्थानीय टोल, वडादेखि केन्द्रसम्म सशक्त आवाज उठाउनु पर्ने आवश्यकता आँैल्याएका थिए । कार्यक्रममा श्रम, पहिचान र निर्णय प्रक्रियामा महिलाको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक अभ्यासको सुदृढीकरण अपरिहार्य रहेकोमा छलफल भएको थियो। सहभागीहरूबीच “लोकतन्त्रको विकल्प रुपान्तरित लोकतन्त्र नै हो” भन्ने साझा निष्कर्ष निकालिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सिद्धार्थ नगरपालिका रुपन्देहीको उपप्रमुख उमा अधिकारी , समाजसेवी तथा महिला अधिकारकर्मी देवी वाग्ले , महिला अधिकारकर्मी इन्दिरा अर्याल , सरिता श्रीस , सञ्चारकर्मी माया गौतम , सञ्चारकर्मी सरु राना लगायतले लोकतन्त्रको मूल्य, समावेशी शासन प्रणाली र लैङ्गिक समानताको सशक्त पैरवी गर्दै, आगामी दिनहरूमा महिला अधिकारका सवालमा अझ सशक्त र संगठित दबाब अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। महिला अधिकारको सुनिश्चितता बिना लोकतन्त्र अधुरो हुन्छ भन्ने सन्देश कार्यक्रमले स्पष्ट रूपमा सम्प्रेषण गरेको छ । सामाजिक न्यायको मुद्दा पनि भएकाले राज्यलाई दवाब दिन आवश्यक रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्
कमेन्ट गर्नुहोस्