लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अमेरिकाबाट निष्कासित ३७ नेपाली काठमाडौं आइपुगे

IMG

गौशाला। अमेरिकाबाट डिपोर्ट गरिएका थप ३७ जना नेपालीहरू काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको हो । नेपालीहरू सवार अमेरिकी चार्टर्ड विमान केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्याौपानेले जानकारी दिए ।


राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ ।भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ ।अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।


ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ।अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतले जनायो ।


अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने श्रृंखला विगतका वर्षहरूमा पनि थियो । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्