
कन्चन। रुपन्देहीको कञ्चन गाउँपालिका जिल्लामा सबैभन्दा कम बेरुजु ल्याउने पालिका बनेको छ । कुल बेरुजु रकमको आधारमा रुपन्देहीका १५ वटा पालिकालाई पछि पार्दै कञ्चन गाउँपालिका गत वर्ष जस्तै यस वर्ष पनि कम बेरुजु आउनेमा पहिलो पालिका बनेको हो ।महालेखा परीक्षकको कार्यालयको ६२औं प्रतिवेदन अनुसार पालिकाको ९६ लाख ८ हजार रुपैयाँ बेरुजु रकमसँगै जिल्लामै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको हो । अघिल्लो वर्ष पनि कञ्चनले जिल्लामा सबैभन्दा कम बेरुजु आउने स्थानीय तहको रुपमा आफूलाई उभ्याएको थियो । सरकारी कार्यालयको अन्तिम लेखा परीक्षण गर्ने संवैधानिक अंग महालेखा परीक्षक कार्यालयलले आप्mनो ६२औँ प्रतिवेदन सार्वजनिक गर्दै आ.व. २०८०-०८१ को वार्षिक लेखा परीक्षणमा कञ्चनको कुल लेखा परीक्षण रकम १ अर्ब २७ करोड बराबरको लेखा परीक्षण रकममा जम्मा ९६ लाख ८ हजार रुपैयाँ मात्र बेरुजु निकालेको हो ।
महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख भएअुनसार कुल बेरुजु रकमको आधारमा कञ्चनपछि कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा सैनामैना नगरपालिका रहेको छ । सैनामैनाको बेरुजु रुकम १ करोड ६ लाख रुपैयाँ रहेको छ भने त्यसपछि शुद्धोधनको २ करोड ४ लाख ५८ हजार रुपैयाँ बेरुजु रकमसहति तेश्रो भएको छ ।यसैगरी २ करोड ४५ लाख १४ हजार रुपैयाँसहित कम बेरुजु आउने चौथो स्थानीय तहको रुपमा मर्चवारी गाउँपालिका बनेको छ भने २ करोड ४५ लाख १८ हजार बेरुजु रुकमसहित ओमसतिया गाउँपालिका पाँचौं कम बेरुजु ल्याउने स्थानीय तह भएको महालेखा परीक्षक कार्यालयले ६२औँ प्रतिवेदनमा उल्लेख छ ।
बेरुजुको अवस्थालाई कुनै पनि सार्वजनिक निकायको वित्तीय सुशासन, पारदर्शिता, जवाफदेहिता, आर्थिक अनुशासन जस्ता विषयहरुलाई हेर्ने गरिन्छ । कञ्चन गाउँपालिकाले आर्थिक सुशासनको पक्षलाई केन्द्रविन्दुमा राखी कार्यसम्पादन गर्दा बेरुजुको अवस्था न्यून राख्न सफल भएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताए । जनप्रतिनिधि र कर्मचारीको अथक प्रयासलाई परिणाममुखी कार्य गर्नमा सेवाग्राहीको सकारात्मक सहयोगका कारण पालिकाले दोश्रो वर्ष पनि जिल्लामा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहको रुपमा स्थापित हुन सफल भएको गाउँपालिकाका अध्यक्ष ढकालले जानकारी दिए ।
पालिकाले विगतका वर्षहरुमा जस्तै आगामी आ.व.मा पनि गत आ.व.को बेरुजु अंकलाई घटाएर प्रदेश र संघमै सबैभन्दा कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा आफ्नो पालिकाको नाम लेखाउन प्रयत्नशिल रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पालिका, प्रदेश र संघको ऐन, नीति, कार्यविधिहरुलाई अधिक्तम पालना गरेर पुँजीगत तथा चालु खर्चलाई बढाएर नमूना स्थानीय तह बनाउन लागिपरिरहेको बताए ।गत वर्ष पनि १ करोड ६३ लाख बेरुजु अंकका साथ कञ्चनले जिल्लामै सबैभन्दा कम बेरुजु ल्याउने स्थानीय तहको रुपमा आफूलाई दर्ज गरेको थियो । त्यसैगरी यस वर्ष पनि बेरुजु समपरीक्षणलाई कञ्चन गाउँपालिकाले प्राथमिकताका साथ कार्य अगाडि बढाउँदै गएको पाउन सकिन्छ । यस आ.व.मा करिब ३ करोड ५० लाख पुरानो बेरुजु समपरीक्षण गरिसकेको छ ।चालु आ.व.को समय सकिन अझैँ २ महिना बाँकी नै छ । चालु आ.व.मा पनि विगतका आ.व.जस्तै नतिजा ल्याएर ह्याट्रिक गर्ने योजनाका साथ काम भइरहेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए ।
चालु आ.व.को खर्चको अवस्थालाई हेर्दा हालसम्म पुँजीगत खर्चतर्फ ५७.६१ प्रतिशत र चालुतर्फ ६१.९८ प्रतिशतसहित समग्रमा ६०.३९ प्रतिशत कार्य सम्पादन गरिसकेको छ । विगत दुई बर्ष अगाडिदेखि कञ्चनले आर्थिक वर्ष शुरु भएको दोश्रो महिनादेखि नै योजना सञ्चालनका लागि उपभोक्ता समिति, तालिम र सम्झौता गर्ने जस्ता कार्यहरुलाई प्राथमिकता दिएर जेठको दोश्रो हप्तासम्म सम्पूर्ण कार्य सम्पादन मूल्यांकनपश्चात् भुक्तानी दिने कार्यलाई तदरुकता दिँदै आएको छ ।
कमेन्ट गर्नुहोस्