
काठमाडौं। नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारी तथा सदस्यहरुले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग भेट गरी महासंघको संस्थापक विषयलाई चाँडो टुङ्गो लगाउन पुनः ध्यानाकर्षण गराएको छ ।
आज महासंघको केन्द्रीय कार्यालयमा भएको दुई पक्षीय छलफलमा सो माग गरिएको फोनिजका महासचिव समीर बलामीले जानकारी दिनुभयो । सो अवसरमा फोनिजले महासंघका अध्यक्ष तथा पदाधिकारीहरुलाई संस्थापकको विषयलाई तीन महिनाभित्र टुङ्गो लगाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्रमा महासंघको २७ औं महाधिवेशनको बन्दसत्रले गरेको निर्णयअनुसार भित्रुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभाग र इतिहास विभागका पदाधिकारीहरु सम्मिलित अध्ययन कार्यदल बनाएर संस्थापक विषय टुङ्ग्याउन आग्रह गरिएको महासचिव बलामीले बताउनुभयो ।
फोनिजले तत्कालीन नेपाल पत्रकार संघको तदर्थ समिति गठन वि.सं. २००८ साल वैशाख ९ गतेको भेलाले गरेको र वि.सं. २००९ वैशाख २८ गतेको अर्को भेलाले सो समितिलाई विस्तार गरी तत्कालीन नेपाल टुडेका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिएकाले सोहीअनुसार सम्बोधन गरिनुपर्ने माग गर्दैआएको छ । वि.सं. २०१२ चैत १६ गते पुनर्गठन गरिएको समितिलाई संस्थापक मान्ने आधार नरहेको फोनजिको अडान रहेको बलामीको भनाइ छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले फोनिजले गराएको ध्यानाकर्षणअनुसार सो विषयलाई केन्द्रीय समिति बैठकमा छलफल गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । फोनिजको सुझाव, अग्रज पत्रकारहरको सल्लाह र परामर्शबमोजिम सो विषयलाई टुङ्गो लगाइने उहाँले बताउनुभयो । महासंघका पूर्व अध्यक्षहरुसँग पनि सो विषयमा आवश्यक सल्लाह गरी अघि बढ्ने उहाँको भनाइ छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संस्थापक विषयमा आवश्यक छलफल गरी अघि बढ्ने बताउनुभयो । यो विषयलाई मापदण्ड बनाएर अग्रज पत्रकारसँगको परामर्शमा टुङ्गो लगाउने उहाँले प्रतिवद्धता जनाउनुभयो ।नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले महासंघको संस्थापक विषयलाई टुङ्गो लगाउन ढिलाइ गर्न नहुने बताउनुभयो । महासंघको ऐतिहासिक विरासतलाई न्याय हुनेगरी टुङ्गो लगाउन आवश्यक रहेको भन्दै २००८ साललाई आधार मान्दा महासंघको इतिहासमा चार वर्ष थप हुने बताउनुभयो ।
कमेन्ट गर्नुहोस्