लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

व्यस्त बुटवलमा बातवरणिय सरसफाइको सकरात्मक प्रयास

IMG

शारदा शाही, रुपन्देही // बुटवल उपमहानगरपालिका नेपालकै पुराना नगरपालिकाहरूमध्ये एक हो। यो उपमहानगरपालिका विक्रम सम्वत २०१६ साल फागुन ३ गते स्थापना भएको हो। तर पछि नेपाल सरकार संघीय मामिला तथा स्थानीय मन्त्रालयद्वारा विसं २०७१ साल मंसिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उपमहानगरपालिकामा स्तरउन्नति भएको हो। 


बुटवल उपमहानगरपालिकाको दक्षिणमा सुद्धोधन गाउँपालिका र तिलोतमा नगरपालिका पर्छन् भने उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका रहेको छ। त्यसैगरी पश्चिममा सैनामैना नगरपालिका रहेको छ भने पूर्वमा देवदह नगरपालिका रहेको छ।देशको प्रमुख राजमार्गहरू पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगमस्थल रहेकोले पनि यो उपमहानगरपालिकालाई व्यापारिक रूपले र पर्यटकीय रूपले निकै महत्त्वपूर्ण मानिन्छ।


२०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या १९ ४ ३३५ रहेको छ जसमा ९४८४९ जना पुरुष को संख्या रहेको छ भने ९९४८६ जना महिलाको सङ्ख्या रहेको छ। यो क्षेत्रको जनघनत्व भने १ हजार ९ सय १३ वर्गकिलमिटर रहेको छ। साक्षरता दर भने ९१ दशमलव ३१% रहेको छ। जसमा ९४ दशमलव २३% पुरुष र ८९ दशमलव ६३% महिलाको रहेको छ।बुटवल उपमहानगरपालिका क्षेत्रफल ठूलो र जनघनत्व पनि बढी भएकोले दैनिक फोहर उत्पादन करिब ७५ टन हुन्छ। जैविक फोहर अर्थात् कुहिने फोहोर ६४% रहेको छ भने नकुहिने फोहर ३३ प्रतिशत रहेको छ। जसमा २८ प्रतिशत पुन प्रयोग योग्य र ८ प्रतिशत पुन प्रयोग गर्न अयोग्य रहेको छ। फोहर व्यवस्थापनमा संलग्न संस्थाहरू भने जम्मा १४ वटा रहेका छन्।


बुटवल उपमहानगरपालिका भित्र फोहोर सङ्कलन गर्नका लागि स्रोत साधनहरू कार्यालयका चेन एस्काभेटर एक थान, ट्याक्टर भ्याकु एक थान, टिप्पर दुई थान, ट्र्याक्टर तीन थान, पानी ट्याङ्कर एक थान र कम्प्याक्टर एक थान रहेको सरसफाई शाखा प्रमुख ठगिश्वर पोखरेलले बताउनुभयो । सरसफाईमा सुपरभाइजर एकजना, चालक दल नौ जना, सरसफाईकर्मी ३० जना रहे पनि सरसफाई तथा फोहर व्यवस्थापन कार्यमा निजी क्षेत्र सहकारी, टोल विकास संस्था खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा संलग्न जनशक्ति गरी करिब १०० जना रहेको उहाँको भनाइ थियो। यति धेरै स्रोत साधन र जनशक्ति भएपनि जनगणना २०७८ अनुसार ३४०९७ घरधुरी रहेको र त्यो सङ्ख्या अहिले अझै बढी भएकोले फोहोर सङ्कलनमा निकै चुनौती रहेको उहाँले बताउनुभयो।


दैनिक रूपमा ७५ टन फोहर सङ्कलन भएपनि फोहोर व्यवस्थापनको लागि अस्थायी रुपमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मजुवामा मात्रै रहेको उहाँले बताउनुभयो। त्यसैगरी फोहर प्रशोधन केन्द्र भने वडा नम्बर ७ र ८ मा रहेको शिवनगर सामुदायिक वनमा मात्रै रहेको पोखरेलले जानकारी दिनुभयो ।बुटवल उपमहानगरपालिकाको क्षेत्रफल धेरै र जनघनत्व पनि धेरै रहेको तर उपमहानगरपालिकासँग रहेको साधन स्रोत र जनशक्तिले नभ्याउने भएकोले निजी क्षेत्र, सहकारी संस्था, टोल विकास संस्था, त्यसैगरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई पनि ठेक्कामा जिम्मेवारी दिएको छ।


यति  हुँदाहुँदै पनि फोहर लिने गाडी समयमा नआउने आइहाले पनि घर माथिबाट फोहोर लिएर तल आउँदाआउँदै गाडी गैसक्ने उपमहानगरपालिकाका नागरिकको गुनासो छ। यही प्रश्नको उत्तरमा सरसफाई शाखा प्रमुख पोखरेलले त्यसो भएमा उपमहानगरपालिकाभित्रका नागरिकले आफ्नो वडा कार्यालयमा गुनासो गर्न सक्नेछन्। वा सम्बन्धित संघसंस्था निजी कार्यालय जसले सरसफाई तथा फोहर व्यवस्थापनको जिम्मा लिएका छन् त्यहाँ गुनासो गर्न सकिनेछ। यदि त्यहाँ सुनवाई नभएमा उपमहानगरपालिका आफैले समन्वय गरी समस्याको समाधान गर्नेछ यसमा नागरिकहरू ढुक्क हुन उहाँले आग्रह पनि गर्नुभयो।बुटवल उपमहानगरपालिकामा १९ वटा वडा कार्यालयहरू रहेकाछन्। प्रत्येक वडा कार्यालयमा त्यस वडाभित्र रहेका फोहोरमैला व्यवस्थापनमा संलग्न संघसंस्थाको नाम, कार्यक्षेत्र, त्यस संस्थासँग सम्बन्धित व्यक्तिको नाम र नम्बर राखिएको छ।


फोहरमैला व्यवस्थापनमा बुटवल उपमहानगरपालिका, वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लि. सगरमाथा मल्टी सर्भिस देव सरसफाई जेवी काठमाडौँ, नविन संयुक्त फोहोर व्यवस्थापन समिति, तिनाउ पश्चिम फोहोर व्यवस्थापन समिति, देवसिद्ध खानेपानी तथा सरसफाई समिति, कालिका विकास तथा समाज सुधार, सरसफाई अभियान व्यवस्थापन समिति,गोर्खाली योद्धा सेक्युरिटी सर्भिस काठमाडौँ, श्री देवीनगर सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेड, श्री शान्तिदीप खानेपानी विकास निर्माण तथा वातावरण सरसफाई उपभोक्ता समिति र प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति गरी १४ वटा निजी कार्यालय तथा संघसंस्थाहरू संलग्न रहेका छन्।उपमहानगरपालिकासँग फोहोरमैला व्यवस्थापनमा संलग्न संघसंस्थाहरूको सम्झौता अवधि भने १० वर्ष, पाँच वर्ष र एक वर्ष रहेको छ। र केही संघसंस्थाहरूसँग सम्झौताको समय अवधि भने तोकिएको छैन ।



कमेन्ट गर्नुहोस्