
कन्चन। कन्चन गाउँपालिकाले पालिका भित्रका पर्यटकीय, धार्मिक, सांस्कृतिक एबम पुरातात्विक सम्पदाको प्रबर्द्धन गर्ने उदेश्यले चित्रकला प्रदर्शनी गर्ने भएको छ । गाउँपालिकाले नेपाल ललितकला प्रतिष्ठान काठमाडौँसँगको सहकार्यमा यहि जेष्ठको अन्तिम सातादेखि चित्रकला कार्यशाला गर्ने भएको प्रमुख प्रशासकीय अधिकृत माधाव प्रसाद पोख्रेलले जानकारी दिनुभयो।
दुई दिनसम्म चल्ने उक्त कार्यशालामा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको सहभागितामा नेपाल ललितकला प्रतिष्ठान काठमाडौँका २० जना बढी कलाकारले गाउँपालिका भित्र पर्ने ऎतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरु तथा बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित विषयबस्तुहरुको चित्रकला क्यानभासमा उतार्ने कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनुभयो।
पालिकाको समग्र सम्पदाहरुको प्रचार प्रसार, संरक्षण एबम संबर्द्धन गरि आन्तरिक तथा बाह्य पर्यटनलाई थप टेवा दिन चित्रकला कार्यशाला गर्न लागेको गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले बताउनुभयो। कन्चन गाउँपालिकाको वडा नम्बर-१ स्थित गजेडी (दानापुर)ताल परिसरमा आयोजना गर्न लागिएको सो चित्रकला कार्यशाला मार्फत सिर्जनशीलताको विकाससंगै पर्यटन प्रबर्द्धन गर्न थप सहयोग पुग्ने आशा गरिएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताउनुभयो।
कमेन्ट गर्नुहोस्