लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाथीभराबाट उठ्यो झण्डै ६१ लाख भेटी

IMG

तिलोत्तमा।  प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्लो एक महिनामा झण्डै ६१ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । वैशाख महिनामा ६० लाख ९० हजार आठसय रुपियाँ भेटी सङ्कलन भएको हो । 


पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दैआइरहेको विवरणअनुसार उक्त रकम संकलन भएको छ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन लागेसँगै दर्शनार्थीको सङ्ख्यामा समेत वृद्धि भएकाले भेटी रकम पनि बढी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 


तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक सातासम्म संलकन गरी फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैँकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने समितिले व्यवस्थापन गरेको छ। 


बुधबार सार्वजनिक तथ्याङ्कअनुसार वैशाख महिनामा ३८ हजार बढी तीर्थयात्री दर्शनका लागि पाथीभरा आएका छन् । एक महिनाको अवधिमा स्वदेश तथा विदेशबाट ३८ हजार एकसय ७० जना भक्तजनले पाथीभराको दर्शन गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । भक्तजनको गणना हरेक दिन माथिल्लो फेदीमा समितिका कर्मचारीले गर्ने गरेका छन् । 

कमेन्ट गर्नुहोस्