
तिलोत्तमा सिटी,२०८२ वैशाख २४ । अभिनेता राजेश हमालले निर्देशमा आउने घोषणा गरेको ९ वर्ष पुग्यो । तर, उनी अझ निर्देशक बनेका छैनन् । उनले २०७४ मा विराटनगरको एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै फिल्म निर्देशनमा आउने घोषणा गरेका थिए ।
सो समय उनले आफूले निर्देशन गरेको नेपाली फिल्म दर्शकले चाँडै हेर्न पाउने समेत बताएका थिए । ‘अबको डेढ वर्षभित्रै दर्शकले मैले निर्देशन गरेको फिल्म हेर्न पाउनेछन्। त्यसको तयारीमा म लागी परेको छु’, हमालले सो समय भनेका थिए ‘कथा अध्ययन भइरहेको छ । बढी आधुनिकता झल्कने भन्दा पनि नेपाली मौलिकता झल्कने मुद्दामा चलचित्र निर्माण र निर्देशन गर्छु ।’ उक्त समय अमेरिकामा बस्ने केही नेपालीहरुको समूहले निर्माण गर्ने लभस्टोरी फिल्मलाई उनले निर्देशन गर्न लागिएको हल्ला पनि गरिएको थियो । तर, अहिले भने राजेशको निर्देशन विषयमा बोली फेरिएको छ । उनी अहिले अभिनय अफर आएन, व्यस्त भइनँ भने निर्देशन गर्ने सोच हो भन्न थालेका छन् ।
निर्देशनमा आउने सोच हराएको हो ? प्रश्नमा हमालले भने, ‘सिर्जनशील क्षेत्रको सबैभन्दा राम्रो पक्ष के भने यसमा उमेर पुग्यो रिटायर्ड हुनुपर्छ भन्ने छैन । मस्तिक, हातखुट्टा, सोच चलिरहेको सिर्जना गर्न सकिन्छ । निर्देशन गर्ने मेरो सोच हराएको छैन ।कलाकारका रूपमा अफर आएपछि त्यही प्राथमिकतामा पर्यो । भोलि कलाकारमै व्यस्त भएँ भने ढिलो पनि हुन्छ । अभिनय अफर आएन, व्यस्त भइनँ भने निर्देशन गर्ने सोच हो । निर्देशनमा केही समयपछि आउन सक्छु ।’राजेश अभिनित पछिल्लो फिल्म ‘नरसिंह ःअवतार’ आगामी जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । उनी ८ बर्षपछि यसै फेरि फिल्ममा देखिन लागेका हुन् ।
कमेन्ट गर्नुहोस्