लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कश्मीर आक्रमणमा मारिएका बुटवलका सुदीपको शव आजै नेपाल ल्याउने तयारी

IMG

तिलोत्तमा।भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो । “अहिले शवको पोष्टमार्टम कार्य भइरहेको छ । यो सकिएपछि हामी शव नेपाल पठाउँछौँ । सम्भव भएसम्म आज (बुधबार) साँझ, नभ्याए भोलि (बिहीबार) नेपाल पठाउँछौँ,” नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो ।


सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मू कश्मीर घुम्न गएका थिए । आतंकवादीहरूले मंगलबार जम्मू कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले सुदीपको शवलाई उनकी आमा र दुई नातेदारसँगै नेपाल पठाउन लागेको छ ।


सुदीपको घर बुटवल उपमहानगरपालिका–१४ भएका कारण उनको शव नयाँ दिल्लीबाट काठमाडौं हुँदै पठाउने वा गोरखपुर हुँदै बुटवल पठाउने भन्ने निर्णय भइनसकेको स्रोतले बतायो । “मृतकको शव उनको आमा र दुईजना नातेदारसँगै पठाउँछौँ । काठमाडौं हुँदै वा गोरखपुरबाट सिधै बुटवल पठाउने भन्ने निर्णय भइसकेको छैन,” दूतावास स्रोतले भन्यो ।

कमेन्ट गर्नुहोस्