
बुटवल। ठूलो बजेटमा निर्माण हुने चिनियाँ चलचित्र नेपालमा छायांकन हुने भएको छ। चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपालमा ५० प्रतिशत छायांकन हुने भएको बाह्रखरी अनलाइनले लेखेको छ।चीनमा ५० प्रतिशत छायांकन हुने चलचित्रको बाँकी छायांकन नेपालमा हुन लागेको हो। चलचित्र नेपालको काठमाडौं, चितवन र लुम्बिनीमा छायांकन हुने पर्यटन व्यवसायी प्रभाकर खड्काले जानकारी दिनुभयो।
खड्का चलचित्र ‘लिभ फरेवर एन्ड नेभर डाई’को नेपाल संयोजक हुनुहुन्छ।हेरीले निर्देशन गर्ने यो चलचित्र निर्माण करिब पाँच वर्षअगाडि सुरु भएको हो।“महामारीलगायत विभिन्न कारणले केही ढिलो भए पनि अब भने तीव्र गतिमा यस चलचित्रको छायांकन गर्ने निर्माणपक्षले जनाएको छ,” उहाँले भन्नुभयो। चलचित्रको बजेट २५० मिलियन आरएनबी (करिब चार अर्ब ८० करोड नेपाली रुपैयाँ) रहनेछ। चिनियाँ चलचित्र उद्योगका पहिलो रोजाइका कलाकार ‘लिभ फरेवर एन्ड नेभर डाई’मा रहनेछन्।२० जनाको संख्यामा आएको चलचित्र निर्माण टोली अहिले काठमाडौंमा छ।
होली पर्वको दिन हनुमान ढोका दरबार परिसरमा शुभमुहूर्त गर्दै केही सिन खिचेको छ। नेपाली संस्कृति समेट्न होलीको सिन निर्माण टिमले खिचेको छ।“नेपाल बुद्धको भूमि भएकाले यहाँको कल्चर र संस्कृति समेट्न लिभ फरेवर एन्ड नेभर डाई नेपालमा खिच्न लागिएको हो,” खड्काले भन्नुभयो, “भोलि चीन फर्किने यो टोली अब अगस्टमा नेपाल आउनेछ।”अगस्टमा २०० जनाको टोली नेपालमा आएर करिब तीन हप्ता छायांकन गर्नेछ। यस चलचित्रमा नेपालका चलेका कलाकार पनि रहनेछन्। को–को नेपाली कलाकार रहनेछन् भन्ने निश्चित नभइसकेको तर केही कलाकारकारसँग कुरा भइरहेको उहाँले जानकारी दिनुभयो।
नेपालको व्यस्त ट्राफिक देखेर भने निर्माण टिम आत्तिएको खड्काले बताउनुभयो। “तर, यहाँको प्रशासन र स्थानीय नागरिकको सहयोगले चाहेको काम निर्धारित समयमै गर्न सकिनेमा निर्माण टिम ढुक्क छ,” खड्काले भन्नुभयो।‘लिभ फरेवर एन्ड नेभर डाई’ सन् २०२६ को चिनियाँ नयाँ वर्ष (फेब्रुअरीको पहिलो हप्ता)मा रिलिज गर्ने निर्माणपक्षको योजना छ। नेपालमा पनि यो चलचित्र प्रदर्शन गर्ने तयारी छ।“लिभ फरेवर एन्ड नेभर डाई ०२६ मा चीनमा सबैभन्दा धेरै बक्सअफिस कलेक्सन गर्ने चलचित्र बनाउने योजना निर्माणपक्षले बनाएको छ,” खड्काले भन्नुभयो।
कमेन्ट गर्नुहोस्