लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘होस्टेल ३’ का सस्पेन्स दृश्य टिकटकमा लिक

IMG

काठमाडौं । नेपाली कथानक चलचित्र ‘होस्टेल ३’ का महत्त्वपूर्ण दृश्य सामाजिक सञ्जालमा बाहिरिएका छन् । शुक्रबारदेखि हलमा चलचित्रको प्रदर्शन सुरु भएसँगै फिल्मका महत्त्वपूर्ण अंश टिकटक लगायतका प्लेटफर्ममा छ्यापछ्याप्ती देखिएका हुन् ।खासगरी चलचित्रका क्लाइमेक्स, सस्पेन्स र ट्विस्ट जस्ता महत्त्वपूर्ण दृश्य फैलिएका छन् । ‘अनिल परियार ०५’ नामका टिकटक प्रयोगकर्ताले चार मिनेट लामो भिडिओ टिकटकमा राखिदिएका छन् ।


उक्त क्लिपमा सात लाख बढी भ्युज छ भने ६२ हजार बढी लाइक आएको देख्न सकिन्छ ।अन्य अकाउन्टबाट समेत फन्नी क्लिप्स भन्दै रमाइला दृश्य सार्वजनिक गरिएका छन् ।फिल्ममा मुख्यमध्येको एक रोलमा रहेका आशिष घिमिरेका बुवा केदारप्रसाद घिमिरे (माग्ने बुढा) ले उक्त चलचित्रमा अभिनय गरेका छन् भन्ने विषय निर्माता पक्षले प्रत्यक्ष रूपमा कतै सार्वजनिक गरेको थिएन ।तर, टिकटकमा माग्ने बुढा कुन भूमिकामा छन्, आशिष घिमिरेकी आमाको भूमिकामा को छिन् सबै क्लिप खुल्लमखुल्ला राखिएका छन् । त्यस्तै ‘होस्टेल ३’ मा पारस बम जेल गएको दृश्य पनि टिकटकमा भाइरल भइरहेको छ ।


सार्वजनिक भएका क्लिपहरूबाट चलचित्रको कथा, घटनाक्रम सबै सजिलै अड्कल गर्न सकिन्छ ।यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, हेना नगरकोटी, पदम तामाङ, समा पराजुली, रिहान गिरी लगायतको अभिनय छ । यो चलचित्र कलेज तथा होस्टेल जीवनको कथामा आधारित छ ।पछिल्ला केही वर्षदेखि चलचित्र प्रदर्शनमा आउनेबित्तिकै महत्त्वपूर्ण दृश्य बाहिरिने क्रम बढेको छ । हालै मात्र सार्वजनिक भएका लाज शरणम्, रेशम फिलिली, सारङ्गी, छक्का पञ्जा ५, १२ गाउँ, बेहुली फ्रम मेघौली लगायतका चलचित्रका महत्त्वपूर्ण दृश्य यसरी नै बाहिरिएका थिए ।यसरी महत्त्वपूर्ण दृश्य बाहिरिंदा चलचित्रको व्यापारमा समेत नकारात्मक असर पर्ने गरेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्