लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुधबार प्रतिनिधिसभामा अध्यादेश प्रस्तुत गर्दै सरकार, कांग्रेस र एमालेको ह्विप

IMG

काठमाडौँ — सरकारले बुधबार संसद्‍मा अध्यादेश प्रस्तुत गर्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा अध्यादेश प्रस्तुत गर्ने भएको छ। सत्तारुढ दलले अध्यादेश स्वीकृतिका लागि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेको छ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई एसएमएस पठाएर ह्विप जारी गरेका हुन् ।


'फागुन २१ गते दिउँसो १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,' प्रमुख सचेतक घिमिरेको एसएमएसमा भनिएको छ । त्यस्तै एमालेले समेत सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् ।भूमिसहित ६ अध्यादेश राष्ट्रपतिबाट जारी भएको १ महिना बित्दा पनि सरकारले स्वीकृतिका लागि संघीय संसद्का दुवै सदनको कार्यसूचीमा राख्न सकेको छैन। प्रतिनिधिसभामा कांग्रेस-एमालेको बहुमत भए पनि राष्ट्रिय सभामा भने सत्तारुढ गठबन्धन अल्पमतमा छ ।


राष्ट्रिय सभामा निर्णायक हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन पूर्व ‘सर्त’ बनाएपछि सरकार अप्ठ्यारोमा परेको हो ।राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृति गर्न उसको ३ सिट सरकारका लागि निर्णायक बनेको छ । यस मुद्दामा संघ सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को अडान पनि सरकारको पक्षमा छैन । राष्ट्रिय सभामा एक सिटको प्रतिनिधित्व रहेको उसले जसपा नेपालले जस्तै भूमि अध्यादेश फिर्ता गर्नुपर्ने अडान लिएको छ ।

कमेन्ट गर्नुहोस्