लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिक्षित चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने सन्तोष सेनको घोषणा

IMG

तिलोत्तमा। अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेटको घोषणा गरेका हुन्।सेनले भने, “हाल बलिदानको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौँ। चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म उद्योगका प्रविधि र सीपको उपयोग गर्दैछौँ, जसका कारण रिलिजमा केही समय लाग्ने देखिएको छ।


दशैंको आसपास चलचित्रको सम्पूर्ण काम पूरा हुनेछ।”यसैसँग, उनले थपे, “दशैंको फूलपातीका दिन कालीमातालाई दुःख दिने दानवरुपीको नाममा बली चढाउने परम्परा रहिआएको छ। संयोगवश, बलिदानको कथामा कालीमाताका अगाडि दानवी प्रवृत्तिका शोषकहरूको बलि दिने भावना समेटिएको छ। यही सन्दर्भलाई आत्मसात् गर्दै, बलिदानको रिलिज २०८२ सालको फूलपाती (असोज १३) मा गरिने निर्णय गरेका छौँ।”गत वर्षको फूलपातीमा समिर अभिनित ‘१२ गाउँ’ प्रदर्शनमा आएको थियो, जुन उनको पहिलो चलचित्र थियो।


उक्त चलचित्रले करिब २५ करोडको व्यापार गरेको निर्माता, निर्देशक र अभिनेतासमेत रहेका विराज भट्टले बताएका छन्। त्यसबेला ‘१२ गाउँ’ दीपकराज गिरीको ‘छक्का पञ्जा ५’ सँग जुधेको थियो।‘बलिदान’ यस पटक अशोक शर्माको ‘डबल ट्रिपल’ सँग जुध्ने भएको छ। ‘डबल ट्रिपल’मा दयाहाङ राई, केकी अधिकारी, मेरुना मगरलगायतको मुख्य भूमिका छ।

 

कमेन्ट गर्नुहोस्