
तिलोत्तमा,माघ ३। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको छ ।कांग्रेसबाट सरकारमा सहभागी भएका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई निजी निवास बूढानीलकण्ठमा बोलाएर देउवाले उनीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको हो ।
केही मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको र केहीको बाँकी रहेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताउनुभयो ।देउवासँगकाे छलफलमा मन्त्रीहरूले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको बताएका चाैधरीले बताउनुभयाे । प्रधानमन्त्री केपी शर्मा ओलीबाट काममा प्रत्यक्ष अवरोध नभए पनि कुनै न कुनै रूपमा काम गर्न अफ्ठेरो भएको मन्त्रीहरूले उल्लेख गरेका छन् । मन्त्रीहरूले प्रधानमन्त्री र नेकपा एमालेले सम्हालेका मन्त्रालयहरूबाट भएका असहयोगबारे पनि जानकारी गएका छन् ।
तर सभापति शेरबहादुर देउवाले अहिलेको सरकारको अर्को विकल्प खोज्न नसकिने भन्दै एमालेसँग समन्वय गरेर सरकारका काम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।आजको छलफलमा सरकारले ल्याएका अध्यादेशको बारेमा पनि कुरा उठेको छ । सभापति देउवासहित महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले सल्लाह गरेरै अध्यादेश ल्याइएकोले अपनत्व ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।यस्तै नेपाली कांग्रेसले सरकारमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ ।
कमेन्ट गर्नुहोस्