तिलोत्तमा,माघ २। रुपन्देही प्रहरीले जिल्ला अदालतबाट फैसला भइ फरार रहेका प्रतिवादीहरुको खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रुपन्देहीले सोमबार आयोजना गरेको मासिक पत्रकार भेटघाट कार्यक्रममा पुस महिनाभित्र ८४ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ ।पक्राउ प्रतिवादीहरुबाट १३ वर्ष ९ महिना २९ दिन कैद तथा ३ करोड ३५ लाख १६ हजार रुपैयाँ जरिवाना असुल उपर भएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।
२७ वर्षअघि अदालतबाट कैद सजाय फैसला भइ फरार शुद्धोधन गाउँपालिका–५ मानपकडीका ६३ वर्षिय झिन्ना थारु चौधरीलाई पक्राउ गरिएको छ’डीएसपी कार्कीले भने, ‘अदालतबाट फैसला भएको २० वर्षपछिका १८ जना, १५ वर्षपछिका १३ जना, १० वर्षपछिका १८ जना, ५ वर्षपछिका २५ जना र पाँच वर्ष भन्दा कम अवधिका २० जना प्रतिवादीलाई नियन्त्रणमा लिएर अदालतमा बुझाइएको छ ।त्यस्तै बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख २२ हजार रुपैयाँ बिगो र १५ दिन कैद सजाय तोकिएका बुटवल उपमहानगरपालिका–११ का तेजबहादुर पाईजा तथा १ करोड ४० लाख रुपैयाँ बिगो र ७ दिन कैद तोकिएका लुम्बिनी साँस्कृतिक नगरपालिका–१ का आरती चौधरीलाई पक्राउ गरी कारागार पठाइएको जानकारी दिएको छ ।
आफ्नै श्रीमती अन्जली विकलाई चिर्पटले हानेर हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ का २६ वर्षिय सागर वि.क., शेषपछिको बकसपत्रबाट प्राप्त जग्गा तत्काल हात पार्न फूपू नाता पर्ने चन्दरा रानी कुर्मीलाई भारतमा हत्या गर्ने मायादेवी–७ रुपन्देहीका ३१ वर्षिय ब्रह्मदेव कुर्मी र चक्कुले हानेर श्रीमती कमला सेन खड्काको हत्या गर्ने देवदह–८ का ४६ वर्षिय रुद्रबहादुर खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।प्रहरीले पाल्पाको माथागढी–७ घर भइ बुटवल–१३ मा बस्ने अर्जुन परियार, रुपन्देही सियारी–२ का गणेश राजभर, शनि भर, शिवकुमार मल्लाह, अनिल यादवसहित ६ जनालाई चोरीका तीनसहित १२ बेवारिसे मोटरसाईकल पनि पक्राउ तथा बरामद गरेको छ ।
प्रहरीले पुसमा ३८ लाख ८३ हजार रुपैयाँ बराबरको अवैध रुपमा भारतबाट भित्रिएको सामान बरामद गर्नुका साथै अवैध माटो तथा नदीजन्य उत्खननमा संलग्न एउटा जेसिबी र १० वटा ट्रयाक्टर समातेको जनाएको छ ।त्यसैगरी पुसभित्र कर्तव्य ज्यान, मोटरसाईकल चोरी, बहुविवाह, लिखत सम्बन्धि, जबरजस्ती करणी तथा उद्योग, बैंकिङ्ग कसुर, लागूऔषध, सवारी ज्यान, कुटपिटलगायतका १ सय ३ मुद्दा दर्ता भएका छन् । ती घटनासँग सम्बन्धित ८४ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको, ३३ जना फरार रहेको, २६ वटा मुद्दा फस्र्यौट गरिएको र बाँकी अनुसन्धान प्रक्रियामा रहेको पनि प्रहरीले जनाएको छ । पुसमा जिल्लामा ९ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ८ सय २८ सवारीसाधनलाई कारवाही गरी ३६ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।प्रहरीमा आउने ठाडो उजुरीहरु, महिला हिंसा, घरेलु हिंसा लगायतका घटनामा पीडितलाई न्याय दिन प्रभावकारी भूमिका खेलिरहेको प्रहरीले दावी गरेको छ ।रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले छिटफुट घटनाबाहेक समग्रमा जिल्लाको शान्ति सुरक्षाको अवस्था राम्रै रहेको बताए । उनले स्थानीय सरकारसँग समन्वय गरी आत्महत्या न्यूनीकरणका लागि जनचेतनामूलक अभियान सञ्चालन गरिएको बताए ।जिल्ला प्रहरी प्रवक्ता (डीएसपी) सुरज कार्कीले जाडोको समयमा चोरीका घटनालाई मध्यनजर गर्दै घरमा पैसा र बहुमल्य गरगहना नराख्न र सचेत हुन आग्रह गरे ।
कमेन्ट गर्नुहोस्