लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

धान उत्पादन बढ्याे, यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन

IMG

तिलोत्तमा,पौष १९ गते। यस वर्ष पोहोरको तुलनामा धानको उत्पादन बढेको छ । आज सार्वजनिक भएको तथ्यांक अनुसार यस वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको हो । यो पोहोरको तुलनामा ४ दशमलव ०४ प्रतिशतले धेरै हो । पोहोर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान फलेको थियो ।समयमै मनसुन भित्रिँदा रोपाइ गर्न सहज, बेलैमा मलखादको व्यवस्थापन, उन्नत जातको बीउलगायतका कारणले यस वर्ष धानको उत्पादन बढेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान बालीको उत्पादन अनुमान गरेभन्दा बढी भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. मतिना जोशी वैद्यले यस वर्ष धान बाली लगाएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको जानकारी दिनुभयो ।


बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको मन्त्रालयको अनुमान छ । यो गएको वर्षको तुलनामा १ दशमलव २८ प्रतिशत कम हो ।त्यस्तै औसत उत्पादकत्व पनि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले निकालेको विज्ञप्तिमा औसत उत्पादकत्व ४ दशमलव १९ मेट्रिक टन प्रतिहेक्टरमा पुगी अहिलेसम्मको उच्च विन्दु कायम हुन पुगेको उल्लेख छ । चैते र बर्खे दुवै धानको उत्पादकत्व र उत्पादन बढेको छ ।तथ्यांक अनुसार यस वर्ष चार वटा प्रदेशमा धानको उत्पादन बढेको छ भने तीन वटा प्रदेशमा घटेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उत्पादन बढेको हो । तर गण्डकी, बाग्मती र कर्णाली प्रदेशमा उत्पादन घटेको छ ।


रुकुम पश्चिममा धान बाली लगाइएको क्षेत्रफलमा कमी आएकाले कर्णालीमा धानको उत्पादन घटेको, नवलपरासी (पूर्व) को केही भागमा बर्खे धानको बाला नलाग्ने समस्या देखिँदा उत्पादनमा केही कमी आएको र लमजुङमा धान बाली लगाएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा गण्डकीमा उत्पादन कम भएको कृषि मन्त्रालयले जनाएको छ ।बाग्मतीसहित देशका केही ठाउँमा असोजको १०, ११ र १२ गतेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेको थियो । अविरल वर्षा, कतै कतै रोगकीराको समस्या भए पनि समग्रमा धानको उत्पादन बढेको र यो सुखद रहेको कृषि मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्