
तिलोत्तमा,मङ्सिर ५ गते।फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार कमलपोखरी स्थित बिग मुभिज पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् । दिउँसो २ः४५ बजेको शोमा फिल्म हेरेका दर्शकसँग उनले हलभित्रै गएर प्रतिक्रिया लिए । हाउसफुल रहेको हलमा उनको प्रवेश हुँदा दर्शकहरुले हुटिङ गर्दै प्रेम दर्शाएका थिए । उनी पनि प्रसन्न भावमा देखिए ।
उनले दर्शकहरुलाई फिल्म कस्तो लाग्यो भनेर सोधेका थिए । अधिकांशले ‘बबाल’ भन्दै हुटिङ गरे । उनले फिल्मलाई दर्शकहरुले दिएको प्रेम देखेरै आफू नेपाल आएको बताए । उनले भने, ‘म एउटा काममा फसेको थिएँ । त्यो सुटिङ सरेपछि नेपाल आउन मौका मिल्यो । तपाईंहरुलाई भेट्नका लागि नै म आएको हुँ ।’ उनीसँग हलमा फोटो खिच्न दर्शकहरुबीच हानाथाप चलेको थियो ।
हलभित्र दर्शकसँग साक्षात्कार गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फिल्म राम्रो चलेको देख्दा खुसी लागेको बताए । ‘निर्माता (नीता ढुंगाना र हरिहर अधिकारी)को मिहिनेत र त्यागलाई पशुपतिनाथले आशीर्वाद दिनुभएको छ । फिल्म एकदमै राम्रो चलिरहेको छ । म खुसी छु,’ उनले भने, ‘यो पारिवारिक फिल्म हो । यसमा कुनै झमेला छैन । म यही भन्छु कि फिल्म हेर्न पूरै परिवार लिएर आउनुस् । यो सानदार फिल्म बनेको छ ।’
उनलाई पत्रकारले नेपाली कलाकार हुँदाको अनुभवबारे पनि प्रश्न सोधेका थिए । जसको जवाफमा उनले भने, ‘म नेपाली कलाकार हुनुमा गर्व गर्छु । म पहाडी हुँ । नेपाल पनि पहाड नै छ । यसैले हाम्रो डीएनए मिल्छ । अलिअलि मेरो अनुहार पनि नेपालीसँग मिल्छ । मलाई नेपाली कलाकार बनाइदिनुभएकोमा आभारी छु ।’ उनले भोलिका दिनमा पनि नेपाली फिल्म खेल्न चाहने बताए ।
प्रदीप आइतबार साँझ श्रीमती कल्याणी रावतको साथमा काठमाडौं आइपुगेका हुन् । उनको नेपाल बसाई चार दिनको रहनेछ । उनी बुधबार दर्शकसँग साक्षात्कार गर्न नेपालगञ्ज जाने कार्यक्रम छ । उतैबाट उनी स्वदेश (भारत) फर्किने जनाइएको छ । यसअघि उनी फिल्मको छायांकनका लागि गत पुषमा नेपाल आएका थिए । फिल्ममा उनले अभिनेत्रीद्वय नीता ढुंगाना र गरिमा शर्माको बुबाको भूमिका निर्वाह गरेका छन् । यसमा उनको भूमिका महत्त्वपूर्ण छ ।बुधबार सम्म सवा ४ करोड व्यापार गर्न सफल फिल्म युनिट अहिले मोफसल हल टुरमा ब्यस्त छ ।
कमेन्ट गर्नुहोस्