लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक २६ गते । वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडी घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदीपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल छन् ।


उनीहरूले अस्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपियाँ लिई सम्पकविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो । साथै पक्राउ परेका दुवै जना बैंकिङ कसूर एवम् अपराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ ।


यसैगरी, वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्ने ३१ वर्षीय गणेश गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट नगद चार लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

कमेन्ट गर्नुहोस्