लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हरित उद्यमशीलता :देवदहमा ४० युवा विद्यार्थीलाई तीन दिने बन्द प्रशिक्षण

IMG

तिलोत्तमा,२०८१ कार्तिक १२ गते।देवदहमा युवा विद्यार्थी लक्षित हरित युवा उद्यमशीलता सम्बन्धी तीनदिने बन्द प्रशिक्षण सुरु भएको छ । सोमबार एक कार्यक्रम बीच लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराईले प्रशिक्षणको उद्घाटन गरे ।विरुवामा पानी राखेर प्रशिक्षणको उद्घाटन गर्दै भट्टराईले स्थानीय स्रोत र साधनको उपयोग गरी गरिने व्यवसाय नै हरित उद्यम भएको बताए । ‘वातावरण प्रदुषण नगर्ने र स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको प्रयोग घट्दै जानु दुःखद विषय हो ।’ उनले भने, ‘अबको युवा पुस्तामा विज्ञान र प्रविधिको अधिकतम प्रयोगसंगै यो पृथ्वी जोगाउने जिम्मेवारी पनि छ । यसलाई मनन गर्दै युवा अघि बढ्नुपर्छ ।’


कार्यक्रममा बोल्दै आयोजक संस्था समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेले वातावरणलाई बचाउँदै हरित उद्यमशीलतामा युवालाई जोड्न प्रशिक्षण आयोजना गरिएको बताए । ‘विश्वमा बढिरहेको वातावरणिय प्रदुषण कम गर्न र युवाहरूलाई यसको महत्वबारे बोध गराउँदै देशमै केही गरौं भन्ने भावनाको विकास गराउन प्रशिक्षण फलदाइ हुने विश्वास लिएका छौं ।’ अध्यक्ष ठाकुरले भने, ‘यसले युवा पुस्तालाई सम्भावनाको खोजी गर्न सिकाउँदै आजको युवालाई भोलिको संसारबारे परिचित गराउन मद्धत गर्नेछ ।’


तीन दिनसम्म संचालन हुने प्रशिक्षण अन्तरगत सोमबार हरित उद्यममा काम गरिरहेका तीन जना उद्यमीले आफ्नो अनुभव संगै विद्यार्थीलाई प्रशिक्षण दिएका छन् । केराको थामबाट पुनः प्रयोग गर्न सकिने र वातावरण मैत्री सेनेटरी प्याड, सारी लगायतका बस्तु उत्पादन गर्दै आएका युवा उद्यमी सन्दिप सापकोटाले सहभागिहरुसंग आफ्ना अनुभव र भोगाई सुनाए । त्यसैगरी गड्यौलाको प्रयोग गरी प्राङ्गारिक मल बनाइरहेका युवा उद्यमी हरी भण्डारी र वनमा खेरजाने पातहरुबाट दुना, टपरी बनाएर विक्री वितरण गर्दै आएकी महिला उद्यमी दया दर्लामीले आ–आफ्ना अनुभवसंगै सहभागीले सोधेका जिज्ञासाको जवाफ दिए ।


डिजिटल पत्रिका सेतोमसी डटकमका कार्यकारी सम्पादक पवन पौडेलले सहजीकरण गरेको प्यानल डिस्कसनमा बोल्दै उनीहरूले राज्यका निकायले सामान्य सहयोग गर्ने हो भने हरित उद्यमको क्षेत्रमा अधिक सम्भावना रहेको बताए । बजारको समस्या नहुने, स्वास्थ्यलाई असर नगर्ने र वातावरणसमेत जोगाउने व्यवसाय नै उत्कृष्ट व्यवसाय रहेको उल्लेख गर्दै उनीहरूले युवा विद्यार्थीलाई हरित उद्यमबारे बुझ्न र त्यसलाई व्यवहारमा लागु गर्न अनुरोध गरे ।सो अवसरमा समृद्ध समुदाय विकास केन्द्रका निर्देशक युवराज चापागाईं र कार्यक्रम प्रमुख आस्था विश्वकर्माले आफ्नो प्रस्तुति र खेलको माध्यमबाट विद्यार्थीहरूलाई हरित उद्यमशीलता सम्बन्धी प्रशिक्षित गरेका थिए ।    


देवदहका नौ वटा माध्यमिक विद्यालयका २७ जना विद्यार्थी सहित हरित उद्यममा जोडिन इच्छुक ४० जना प्रशिक्षार्थी सहभागी कार्यक्रममा मंगलबार (भोलि) गो जेब्रा डेनमार्ककी निर्देशक लि मेथै जेन्सनले सहजीकरण गर्नेछन् ।देवदह नगरपालिकासँगको समन्वयमा सञ्चालित कार्यक्रमका लागि स्कुल लाइफ नेपाल, डेनमार्कले आर्थिक सहयोग गरेको छ ।

कमेन्ट गर्नुहोस्