
सर्वप्रथम, गृहमन्त्री जस्तो गरिमामय पदमा नियुक्त भएर देशमा सुशासन ल्याउने अभियान चलाउँदै गर्दा हजुरलाई हार्दिक बधाई तथा सुभकामना व्यक्त गर्न चाहन्थें।हाम्रो देशको बेथिति र चरम भ्रष्टाचारलाई निमिटयान्न पार्नुहोस भन्न चाहन्थे।म लगयात लाखौं नेपाली जनताले भोट,मतदान भन्ने के हो भन्ने चिनेका पनि छैनौ।त्यसलाई महसुस गराउने,बुझ्ने वातावरण मिलाईदिनुहोस भन्न चाहन्थे ।केवल पैसा मात्र कमाउन भनी विदेशिएका हामी जस्ता बेसहारालाई पनि स्वदेश फर्काएर देशमै केही गर्न सक्ने वातावरण मिलाइदिनुहोस भनेर पत्र लेख्न चाहन्थे।तर
फूलमा माहुरी डुल्ने बेलामा।
कोदो रोप्दा लाएको पिरती,
छुट्यो तोरी फुल्ने बेलामा।।
राजु परियार र देवी घर्तिले गाएको यो लोकगितको लाइन त राजनितीमा मेल खान पुग्यो।ठिक त्यस्तै चार महिना पनि नपुग्दै हजुरको कुर्सी खोसियो।अहिले अचानक बन्द कारागारभित्र हजुर आइपुग्नु भयो।गृहमन्त्री हुँदा लेख्छु भनेको कुरा त पूरा हुन सकेन।
माननीय पुर्वगृहमन्त्री रबि लामिछाने ज्यू!मेरो नाम बिक्रम थापा हो।म हाल दक्षिण कोरियामा एउटा साना तथा मझौला कारखानामा कार्यरत छु।मसँग मुख छ तर म बोल्न पाउँदिन।मसँग खुट्टा छन तर स्वतन्त्र भएर कतै हिँडडुल गर्न पाउँदिन।म कारखानामा बिना दाम्लोले बाँधिएको एक स्वतन्त्र कैदी जस्तै हुँ।घरपरिवारको गाँस,वास,कपासले मेरो काँध थिचिएको छ।जाउँ कहाँ जाउँ।जानी ठाउँ छैन।दिन उज्यालो छ।तर मन अँध्यारो छ।अर्काको देशमा अर्काकै अधिनमा बस्नुपर्ने बाध्यताले डामिएको छु।कारखानामा तारबार छैन।खुल्ला छ कारखाना। तर म वर्षौदेखी त्यही खुल्ला झ्यालखाना सरहको कारखाना भित्र पिल्सिएको छु।
माननीय रबि लानिछाने ज्यू! हजुर चाहिँ साँच्चिकै बन्द कारागारभित्र बस्नुपरेको अवस्था छ।म एउटा स्वतन्त्र नेपाली नागरिकको हैसियतले यो खुल्ला पत्र आज हजुरलाई लेख्दै छु।आसा गर्छु यो पत्र हजुरसम्म पुगोस।
माननीय रबि लामिछाने ज्यू,
यो सन्सार बिचित्रको छ।ईतिहास कोट्याएर हेर्यौंभने कहालीलाग्दो खाई देखिन्छ।र त्याहाँ लाखौं करोडौं निर्दोष आत्माहरुको चिच्च्याहट मात्र सुनिन्छ।नाम नै लिँदा पनि नाक थुन्नुपर्ने त्यस्ता क्रूर शासकको जन्म भएको थियो कुनैबेला यो सन्सारमा।कसैले गल्ती गरेर सजाय पाए।कसैले गल्ती नगरेर पनि सजाय पाए।
हाम्रो देशको ईतिहासका दर्दनाक पानाहरु अनगिन्ती छन।देशको सेवामा खटिएका काजी भिम मल्ल विरोधीको जालमा फसे।राज्यको सच्चा सेवक अनाहकमा मारिए।
देशको एकीकरण गर्ने क्रममा बहादुर शाहले पस्चिमको पुरै राज्य एकीकरण गरेर नेपाल राज्यमा मिलाउन सफल भए।उनले त्यस्तो महान कार्य गर्दा अपजस मात्र पाएनन,बल्कि जेलमा नै थुनेर नानाथरीका भ्रमात्मक कुरा फैलाएर मृत्यु गराइयो।
भिमसेन थापा जसले एकतीस वर्षसम्म भारदार भएर देशमा शासन गरेका थिए।उनिपनी गुटबन्दी र दरबारिया षडयन्त्रमा परेर जेलमा परे।उनलाई दरबार भित्रको षडयन्त्र र अपमान सहन नसकेर जेलमै आत्महत्या गर्न वाध्य बनाए।राणा शासनको अन्त्य हुनुपर्छ भनेर अभियान चलाउने लखन थापा मगरलाई छाला तारेर खिर्रोको बोटमा झुन्ड्याएर मारियो।भिमदत्त पन्त सामन्तिहरुको फन्दामा परेर मारिए।
माननीय रबि लामिछाने ज्यू!
देश बाहिरका शासकको कुरा गर्नुपर्दा युगान्डाको नरभक्षी
सैतान शासक इदी आमिन जसले आफ्नै जनताको हत्या गरेर मानिसको मासु खाने गर्दथ्यो।रसियाको तानाशाह स्टालिन जसले लाखौं मानिसको हत्या गर्यो।त्यतिमात्र नभएर मानिस र चिम्पान्जीबिच गर्भधारण गराएर ठिमाहा मानिसको जत्था बनाउने योजना बनाएको थियो।जसले कुर्सीमा बसिरहने र क्रूर शक्तिशाली शासक बन्ने योजना बनाएको थियो।जर्मनीको हिटलरको उस्तै छ कुरा।दोस्रो विश्वयुद्धमा उसले यातना गृह निर्माण गरेर राखेको थियो।त्यही क्याम्पमा उसले निर्दोष आधा करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो।
आदरणीय रबि लामिछाने ज्यू,
अब यातना गृह र कैदीको चर्चा गरौं।दोश्रो विश्वयुद्धमा कैदीहरुलाई थुन्नका लागि यातना गृह निर्माण भएका थिए।यस्तैमा एकजना भिक्टर फ्रेन्कल भन्ने पनि कैदी बनेर यातना गृहमा आएका थिए।त्याहाँ उनका परिवार पनि आएका थिए।त्यो यातना गृहमा लाखौं मानिसहरु अनाहकमा मारिएका थिए।कति मारिएका थिए भने कति बाँच्ने र छुटकारा पाउने आशा नै गुमाएर मरेका थिए।यस्तो मनोभावना ती भिक्टर फ्रेन्कलले बुझेका थिए।तर ती भिक्टर फ्रेन्कल भन्ने मानिसले आशा गुमाएनन।हतोत्साहित,निरास कहिल्यै भएनन।आफ्नो एउटा लक्ष्य बनाईरहे।उनले सकारात्मक सोचेर यातना गृहबाट रिहाई हुने छु र मैले सुखको जीवन बिताउने छु भन्ने योजना अनुसार साहस गरेर बाँचिरहे।एकदिन नभन्दै युद्ध समाप्त भयो र यातना गृहमा भएका कैदीहरु रिहा हुन सफल भए।ती भिक्टर फ्रेन्कल पनि रिहा भए।एउटा उद्देश्य र सकारात्मक सोचले उनिले नयाँ जीवन पाएर उदहारणीय मानिस बन्न सफल भएका थिए।
माननीय रबि लामिछाने ज्यू!
हामिले महाभारत कथामा हेर्यौँभने,महाभारत कथामा दुई प्रकारको राजनीति हाबी भएको छर्लङ्ग देखिन्छ।आँखा नदेख्ने धृष्टराष्ट्र र उनको छोरा कुर्सीमा बसिरहने लक्ष्य थियो।युधिष्ठिरको लक्ष्य जनसमुदायको दिलमा बस्ने थियो।
धृतराष्ट्र ब्यक्तिगत हित चाहन्थे।युधिष्ठिर राष्ट्रको हित चाहन्थे।दुर्योधनले कोषलाई आधार मान्थे।युधिष्ठिरले सत्यता र धर्मलाई आधार मान्थे।तरपनी सत्यका पाण्डवहरुलाई असत्यका धृतराष्ट्र,दुर्योधनले जिवनभरी सताईरहे।तड्पाइरहे।खाडलमा हालिरहे।तल पारिरहे।यतिसम्मकी लाक्षगृह बनाएर आगोमै जलाएर मार्ने षडयन्त्रसम्म पनि गरे।तरपनि सत्यको जित भएर छाड्यो।धर्मको जित भएरै छाड्यो।
माननीय रबि लामिछाने ज्यू !
राजनीति महाभारत कथामा भएजस्तै साच्चिकै दुई प्रकारको हुन्छ।राजनीतिमा बिदुरजस्ता चलाख बिद्धान पनि हुन्छन।भिष्मपितामहा जस्ता निरीह पनि हुन्छन।आँखा नदेखेर पनि चतुर खेलाडी धृतराष्ट्र जस्ता पनि हुन्छन।कुनै पनि हालतमा सत्य र धर्मलाई कुल्चनै पर्छ।हराउनै पर्छ भन्ने शकुनि मामा जस्ता पनि हुन्छन।
तसर्थ हजुर अब सशक्त भएर निस्कनु पर्दछ।राष्ट्रको महान मानिस बन्नका लागि मनको कुरा कसैलाई भन्नू हुन्न।भोजपत्र जस्तो छर्लङ्ग देखिने पातलो बन्नु हुन्न।मनको कुरा सिबाय आफू कसैलाई थाहा हुनु हुँदैन।कसैलाई खुलेआम बिरोध नगर्नुहोस।सियो बनेर पस्नुहोस।मुसल बनेर निस्कनुहोस।साहस गर्नुहोस।आशा नमार्नुहोस। भिक्टर फ्रेन्कलले जस्तै धैर्य गर्नुहोस।मनलाई कमजोर नबनाउनुहोस।मैले जित्छु।सफल हुन्छु।उन्मुक्ति पाउँछु भन्ने सकारात्मक सोच र उद्देश्यका साथ केहीदिन त्यो अँध्यारो कुर्सिमा बस्नुहोस।छिट्टै रिहाई हुनुहुने छ।उज्यालो भोलि नै आउने छ।उज्यालो भोलि नै आउने छ।हार्दिक धन्यवाद।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस।
कमेन्ट गर्नुहोस्