लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामान्य गालीले पनि बालबालिकाको मनोबल कमजोर बनाउँछ

IMG

लेखक :मणिकुमार लिम्बू

बालबालिका आफैंमा संवेदनशील हुन्छन् । उनीहरुलाई सानो सानो घटनाले पनि गम्भीर असर गरिरहेको हुन्छ। घर, विद्यालय, साथीहरुमाझ यस्ता घटना जतिबेला पनि यस्ता घटना घटन सक्छ तर त्यसलाई सही तरिकाले सम्बोधन नगरेको खण्डमा उनीहरुको आगामी जीवनमा पनि त्यो घटना दुःखको रुपमा आउने गर्छ ।घरमा आमाबुवा झगडा गर्ने स्वभावका छन् र बारम्बार घरमा झगडा गर्छन् भने बालबालिकामा डराउने, कसैसँग बोल्न नखोज्ने, हिच्किचाउने स्वभाव निर्माण हुन्छ । जसको कारण उनीहरुको चौतर्फी सर्वाङ्गीण विकासमा रोकावट पैदा हुने गर्छ । यससम्बन्धी धेरै अनुसन्धान पनि भएका छन्, जसलाई सजिलैसँग खोजेर पनि पढ्न सकिन्छ ।


विद्यालयमा विभिन्न बहाना बालबालिकालाई सजाय गरेको पाइन्छ । जस्तै, गृहकार्य नगरेको बहाना, ड्रेस नलगाएको बहाना, राम्रोसँग पढ्न नजानेको बहाना आदिलाई लिन सकिन्छ । यस्तो बहानामा उनीहरुलाई सामान्य गाली मात्र गरेको खण्डमा उनीहरुको मनोबल कमजोर भएर जान्छ । सधैंभभरि उनीहरु आफूहरुलाई कमजोर ठान्ने गर्छन् । हेर्दा सामान्य विषय जस्तो लागे पनि बालबालिकाको दृष्टिकोणबाट यसलाई हेर्ने हो भने निकै महत्त्वपूर्ण रहन्छ ।बालबालिकालाई भविष्यको कर्णधार मात्र नभनेर वर्तमानका महत्त्वपूर्ण साझेदार हुन र वयस्कहरुले एक महत्त्वपूर्ण साझेदारको रुपमा व्यवहार गर्न सके उनीहरु अहिलेबाटै निडर, आफ्नो कुरा प्रष्टसँग राख्न सक्ने, कुनै कुरामा निर्णय लिन सक्ने जस्तो बानी वा स्वभावको विकास हुन्छ । नेपालले बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा सन् १९९० सेप्टेम्बर १४ मै हस्ताक्षर गरिसकेको छ । नेपाल पक्ष राष्ट्र भएको हैसियतले पनि त्यहाँ भएका प्रावधान कार्यान्वयन गर्नु जरुरी हुन्छ तर व्यवहारमा अझै पनि बालबालिकाले समस्या भोग्नु परेको छ ।


जन्मदर्ता नभएको, अनुशासन नभएको, राम्रोसँग पढ्न नजानेको जस्ता बहानामा बालबालिका पढ्न पाउने हकबाट बञ्चित हुनुपरेको छ, जुन महासन्धिमा भएको प्रावधान विपरीत छ ।बालबालिकालाई डरत्रासले भन्दा पनि आत्मीय वातावरणले सकारात्मक प्रभाव पार्छ । उनीहरुलाई हौसला चाहिएको हुन्छ । तर वयस्क मानिसहरुले आफू बालबालिका हुँदा भोगेको समस्यालाई भुलेर उनीहरुलाई त्यस्तो किसिमको व्यवहार गरेकाले बालबालिका सिर्जनशील कार्यमा भन्दा पनि अनुत्पादक कार्यमा लाग्ने गरेको छ। कक्षा १ मा १०० जना विद्यार्थी भर्ना भएकोमा मुस्किलले ३६ जना बालबालिका कक्षा १० पूरा  गरेको अध्ययनले देखाउँछ भने अन्य बालबालिका विद्यालय छोडेको पाइन्छ । सामान्य रुपमा कुनै एक जना शिक्षकले गाली गरेको बहानामा पनि विद्यालय छोड्ने बालबालिकाहरु भेट्न सकिन्छ ।


उदाहरण मेरो बुवा आज भन्दा करिब ६० वर्षअघि शिक्षकले बेस्सरी पिटेका कारण कक्षा ३ पढ्दापढ्दै विद्यालय छाडे फेरि त्यस्तै पिटाई खाने डरले पढाइ छाडेको कुरा घरमा घरीघरी गरिरहनुहुन्छ । यदि त्यो घटना नभएको भए सायद आज म यहाँ हुने थिइनँ, पक्कै पनि यो भन्दा राम्रै ठाँउमा हुने थिएँ होला भनेर गुनासो राख्नुहुन्छ ।यसरी एक जना शिक्षकको सामान्य गल्तीका कारण कुनै बालबालिकाको भविष्य बिग्रन सक्छ । त्यसकारण  यो अति नै संवेदनशील विषय रहेको छ । यसमा नेपाली समाजले जति छलफल चलाउनुपर्ने हो त्यो चलाएको पाइँदैन । अनि देश बनेन भनेर केवल गुनासो मात्र गर्ने गरेको पाइन्छ । जो मानिस अबको १५-२० वर्षमा वयस्क भएर कुनै स्थानको नेतृत्व गर्न तयार छन्, उनीहरुलाई बेवास्ता गरेर पक्कै पनि नेपाली समाज बन्न सक्दैन । उनीहरुलाई अहिलेबाटै प्रशिक्षित गरेर लैजान जरुरी छ ।


विद्यालय पाठयक्रम पनि त्यस्तो विषयवस्तु समेट्न जरुरी छ, जो विद्यालयबाट घर फर्किसक्दा त्यसको प्रयोग घरमा गर्न सकियोस् । जस्तो बालबालिकालाई विद्यालय, घरपरिवार र समाजलाई जोड्न सकोस् तर अहिलेको पाठयक्रमले यी सबै कुरालाई जोड्न सकेको देखिंदैन । जसकारण बालबालिकामा पढ्ने लगाव बढेको देखिंदैन । सिद्धान्त घोकाएर, गणितका ठूला-ठूला भ्यालु क्याल्कुलेसन गराएर व्यवहारमा त्यसलाई उतार्न सकिंदेन । यस्ता विषयले बरु पढाइप्रति वितृष्णा पैदा गर्छ । त्यसकारण बेलैमा यो विषय सोच्न सकिएन भने उच्च शिक्षा अध्ययनमा विद्यार्थीको जुन खडेरी अहिले त्रिवि लगायतका विश्वविद्यालयहरुमा छ, अबको दिनमा विद्यालयमा पनि आउन सक्दैन भन्न सकिंदैन ।


देशमा केही गर्न सकिंदैन अब यहाँ बसेर कुनै भविष्य छैन ? पढेर पनि अन्तिममा विदेश नगई हुँदैन भन्ने भाष्य अहिले क्याम्पसका विद्यार्थीमा त छँदैछ, विद्यालय तहका विद्यार्थीमा पनि यो भाष्य व्यापक रुपमा रहेको छ । १२ कक्षा पास गर्न सके विदेश जान सकिन्छ भनेर उनीहरुले आफ्नो पढाइको अन्तिम गन्तव्य १२ कक्षालाई मात्र बनाएको छ । राज्यका लागि यस्तो किसिमको धारणा बनिनु पक्कै पनि राम्रो हुन सक्दैन । युरोपमा देखिएको उमेरको समस्या अब नेपालमा पनि चाँडै देखिनेवाला छ, यसलाई नियन्त्रण गर्न लागि घरपरिवार हुँदै विद्यालय तहबाटै सबैले काम गर्ने अवस्था आएको छ ।

(लिम्बू बालअधिकारकर्मी हुन् ।)

कमेन्ट गर्नुहोस्