
श्री विद्यालय सबै
विषय: 'पुस्तक-रहित शुक्रवार' कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले सिक्ने सीपहरूबारे जानकारी |
महोदय,
यस पत्रमार्फत म 'पुस्तक-रहित शुक्रवार' कार्यक्रमअन्तर्गत कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूले सिक्ने सीपहरूबारे जानकारी गराउन चाहन्छु। हाम्रो उद्देश्य विद्यालयका विद्यार्थीहरूलाई व्यावहारिक र रोजगारमूलक सीपमा दक्ष बनाउनु हो, जसले गर्दा उनीहरूले अध्ययनपछि वा अध्ययनकै क्रममा रोजगार पाउन सकून्। यस कार्यक्रमले उनीहरूलाई निम्न विषयहरूमा दक्षता हासिल गराउनेछ:
१. कक्षा ९ र १०:
विद्यार्थीहरूले HTML, CSS, र WordPress जस्ता सरल तर प्रभावकारी प्रविधिहरू सिक्नेछन्। यसले उनीहरूलाई वेबसाइट निर्माणको प्रारम्भिक ज्ञान प्रदान गर्छ र डिजिटल युगमा आवश्यक पर्ने सीपहरू विकास गर्न सहयोग गर्छ। हरेक शुक्रबार यी विषयहरू सिकाइनेछन्, जसले सिकाइलाई रमाइलो र परिणाममुखी बनाउनेछ।
२. कक्षा ७ र ८:
यस कक्षाका विद्यार्थीहरूलाई आधारभूत कम्प्युटर तालिम प्रदान गरिनेछ। तिनीहरूले Microsoft Word, Excel, PowerPoint, Google tools, र AI जस्ता उपकरणहरूमा काम गर्न सिक्नेछन्। यसले कक्षा ९ र १० मा प्रोग्रामिङ भाषा सिक्नको लागि बलियो आधार तयार गर्नेछ। साथै, AI को प्रयोगबाट गृहकार्य गर्न, Google मा समस्याहरू समाधान गर्नका लागि खोजी गर्ने जस्ता सीपहरू पनि सिकाइनेछ।
३. कक्षा ११ र १२:
उच्च कक्षाका विद्यार्थीहरूलाई TAX, VAT, लेखा र Tally सफ्टवेयरको प्रशिक्षण दिइनेछ। यसले तिनीहरूलाई लेखा सम्बन्धी ज्ञान प्रदान गर्नेछ, जसले गर्दा उनीहरूले १२ कक्षा उत्तीर्ण गरेपछि लेखापाल पदमा रोजगारी प्राप्त गर्न सक्छन्।
४. शिक्षकहरू:
शिक्षकहरूलाई Microsoft Word र AI (जस्तै ChatGPT, Claude AI, Gemini, Perplexity AI आदि) को प्रशिक्षण दिइनेछ, जसले गर्दा उनीहरूले आफ्ना प्रश्नपत्रहरू आफैँ टाइप गर्न सकून् र समस्याहरूलाई AI मार्फत समाधान गर्न सिकून्। थप रूपमा, नयाँ प्रविधि, साइबर आक्रमणबाट कसरी सुरक्षित रहने, सामाजिक सञ्जालको सुरक्षा कसरी गर्ने (जस्तै Facebook 2FA, Password changing) जस्ता विषयमा पनि तालिम प्रदान गरिनेछ। Canva Design को प्रयोग गरेर विद्यालयका विज्ञापनहरू डिजाइन गर्न पनि सिकाइनेछ।
यस कार्यक्रम अन्तर्गत समावेश गरिएका सबै विषयहरू शिक्षकहरूका लागि उच्च तलब दिनुपर्ने आवश्यकता बिना पनि विद्यालयले सजिलै पढाउन सक्ने गरी छनोट गरिएको हो। HTML, CSS, र WordPress जस्ता विषयहरू धेरै गाह्रो छैनन्, त्यसैले विद्यार्थीहरूले छिटो र सहज रूपमा सिक्न सक्नेछन्। 'पुस्तक-रहित शुक्रवार' को यो कोर्सले विद्यार्थीहरूलाई व्यावहारिक र रोजगारमूलक सीप दिनेछ, जसले तिनीहरूलाई भविष्यमा रोजगारी प्राप्त गर्न सक्षम बनाउनेछ।
धन्यवाद।
भवदीय,
अमृत लम्साल
(IT Student )
तिलोत्तमा-०७ रुपन्देही
कमेन्ट गर्नुहोस्