लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पहिलोपटक आमाबाबु बनेका दम्पतीले बच्चाको बारेमा जान्नैपर्ने १० कुरा

IMG

तिलोत्तमा,२०८१ असोज १८ गते।आमाबाबु बन्नु जीवनकै एक अविस्मरणीय क्षण हो, जसमा खुसीका साथै जिम्मेवारीको भारी पनि थपिन्छ । पहिलो पटक अभिभावक बन्नेका लागि यो अनुभव थप चुनौतीपूर्ण हुनसक्छ, किनकि उनीहरूले बच्चाको हेरचाहमा अनगिन्ती कुरा सिक्नुपर्ने हुन्छ । बच्चाको राम्रो स्वास्थ्य र विकासका लागि सानातिना कुरामा समेत ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।


प्रत्येक नयाँ आमाबाबुले आफ्ना शिशुको बारेमा जान्नैपर्ने १० कुरा

दूध खुवाउने नियम

नवजात शिशुलाई हरेक दुई-तीन घण्टामा दूध खुवाउन आवश्यक हुन्छ । यो नियमितता बच्चाको तौल र विकासका लागि अत्यावश्यक हुन्छ । दूध खुवाउँदा शिशुको शरीरमा पर्याप्त पौष्टिक तत्त्व पुग्न मद्दत गर्छ ।


डकार गर्न लगाउने

दूध खाएपछि बच्चालाई डकार गराउनु जरुरी छ । यसका लागि बच्चालाई काँधमा राखी उसको ढाडमा बिस्तारै सुमसुम्याउनुपर्छ । यसले पेटमा रहेका ग्यास निस्कन मद्दत गर्छ र बान्ता गर्ने सम्भावना कम हुन्छ ।


पिसाबको जाँच

दिनमा कम्तीमा ६–७ पटक बच्चाले पिसाब फेर्नुपर्छ । यसले बच्चालाई पर्याप्त पोषण प्राप्त भइरहेको सङ्केत गर्छ। पिसाबको मात्रा र फेराइमा कमी भएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।


दिसाको नियमितता

बच्चाले दिनमा धेरै पटकदेखि दुई दिनमा एकपटक दिसा गर्नु सामान्य हुन्छ । यदि बच्चाले सामान्य रूपमा दिसा गरिरहेको छ भने त्यसमा कुनै समस्या हुँदैन । तर यदि बच्चाले सामान्य रूपमा दिसा गरिरहेको छैन भने चिकित्सकलाई देखाउनु उचित हुन्छ ।


डाइपरको सही प्रयोग

बच्चालाई दिनभर डाइपर लगाइदिनु स्वास्थ्यका दृष्टिले हानिकारक हुनसक्छ । दिनभरि बच्चालाई डाइपर लगाइदिंदा उसलाई डाइपर र्‍यासेस हुनसक्छ । यस्तो हुन नदिन केही समय बच्चालाई डाइपर विना पनि राख्नुपर्छ ।


इक्क लाग्नु

बच्चालाई इक्क आउनु सामान्य कुरा हो । त्यसैले बच्चालाई इक्क आयो भनेर डराउनु पर्दैन । इक्क आउँदा बच्चालाई काँधमा लिएर बिस्तारै सुमसुम्याउनु राम्रो हुन्छ ।


खोकीको उपचार

हल्का खोकी बच्चामा सामान्य हुनसक्छ । यदि खोकीको कारण नाकमा जमेको पाप्रो हो भने ‘नोज ड्रप’ प्रयोग गर्न सकिन्छ । नोज ड्रपको प्रयोगले पनि खोकी रोकिएन भने चिकित्सकको सल्लाह लिनुपर्छ ।


दूध खुवाउने स्थिति

आमाले शिशुलाई सुताएर दूध खुवाउनु हुँदैन, विशेषगरी दुई महिनाभन्दा मुनिका शिशुलाई । सुताएर खुवाउँदा कानमा सङ्क्रमणको खतरा हुन्छ ।


सुताउने तरिका

बच्चालाई सधैं ढाडको बलमा सुताउनुपर्छ । पेटको बलमा वा घोप्टो पारेर सुताउँदा घाँटी र श्वासप्रश्वासमा समस्या हुनसक्छ ।


रुने समस्याको समाधान

पहिलो तीन-चार महिनासम्म बच्चाले पेट दुखाइका कारण धेरै रुने गर्छन् । यस्तो अवस्थामा बच्चाको पेटलाई गोलो आकारमा मसाज गर्न सकिन्छ । यसो गर्दा बच्चालाई आराम मिल्छ ।नयाँ अभिभावकले यी आधारभूत कुरा ख्यालमा राख्दा शिशुको समग्र स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्छ । जिम्मेवारी भनेको शिशुको हेरचाहमा मात्रै होइन, उसका लागि सही निर्णय लिनमा पनि हुन्छ ।


डा. बाबुराम पाण्डे

बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

कमेन्ट गर्नुहोस्