लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्तनपान सप्ताह: आमाको दूधको महत्त्व र फाइदाहरु

IMG

विश्व स्तनपान सप्ताह सन् १९९२ बाट मनाउन सुरु गरिएकोमा विभिन्न तथ्यांक अनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाइन्छ। विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ विश्व स्तनपान सप्ताह लगायतका संस्थाहरू र अन्य सम्बन्धी संस्था र अभियानहरूको प्रत्यक्ष संलग्नतामा हरेक वर्ष विश्व स्तनपान सप्ताह विश्वभरि भव्यताका साथ आयोजना गरिन्छ ।


स्तनपान सप्ताह को उद्देश्य

जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपान लाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूको बिच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु नै हो।


वर्ष २०२४ मा चाँही स्तनपान सप्ताहको नारा Closing the gap: Breastfeeding support for all अर्थात् खाडललाई पुर्नका लागि सबैलाई स्तनपान सम्बन्धी सेवाको सहायता गर्ने भन्ने अर्थ लाग्दछ ।


स्तनपान के हो ?

सामान्यतया शिशुलाई आफ्नै आमाको दूध चुसाउनु नै स्तनपान हो। नवजात शिशुको आधारभूत अधिकारका रूपमा लिइने स्तनपान लाई सुरुवाती या प्रारम्भिक अनि पूर्ण गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।


प्रारम्भिक स्तनपान

शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नु नै प्रारम्भिक स्तनपान हो । यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्नुका साथै शिशुको शरीरमा ग्लुकोजको कमी हुनबाट पनि बचाउँछ। साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेँलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ।


पूर्ण स्तनपान

शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनु नै पूर्ण स्तनपान हो। शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्व समेत आमाको दूधमा नै प्राप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन।


पूर्ण स्तनपान का फाइदाहरू

६ महिनासम्म स्तनपान गराउँदा शिशुहरूको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्दछ।पूर्ण स्तनपान गराएका बच्चाहरूको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने हुन्छ। सङ्क्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ।दीर्घकालीन रूपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपान को भूमिका रहेको छ। शिशु ६ महिना पुग्न साथ आमाको दूधका साथसाथै पोसिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तीमा दुई वर्षसम्म थप आहारका साथ स्तनपान लाई पनि निरन्तरता दिनु पर्दछ।


स्तनपान एउटा आमाले आफ्नो बच्चाको लागि गर्नसक्ने एक महत्त्वपूर्ण र महान कार्य हो। जसले गर्दा बच्चालाई चहिने सम्पूर्ण खाना, पोषकतत्व र विभिन्न संक्रमणबाट बच्न चाहिने एन्टिबडी प्राप्तिका लागि मद्दत पुग्दछ।


विश्व स्वास्थ्य संगठन र विभिन्न अध्ययनका प्रभावकारी स्तनपान भन्नका लागि निम्न कुरा गराउन जरुरी देखिन्छ :

–सबै आमाले बच्चा जन्मिनेबित्तिकै जतिसक्दो छिटो, सु्त्केरी भएको १ घण्टाभित्रै आफ्नो दूध खुवाउनु पर्दछ।

–पहिलो ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने र त्यसपछि २ वर्षसम्म थप आहार सहित स्तनपान लाई निरन्तरता दिनुपर्दछ।


विश्व स्वास्थ्य संगठनका अनुसार skin-to-skin contact, rooming -in and kangaroo mother care जस्ता कार्यले नवजात शिशुको अस्तित्व र बिरामीपनमा महत्त्वपूर्ण भूमिका खेल्दछन्।


प्रभावकारी स्तनपानले बच्चाको स्वास्थ्य मात्र नभएर आमाको शरिरीक तथा मानसिक स्वास्थ्यलाई पनि बलियो बनाउन सहयोग पुग्दछ। सुत्केरी भएलगत्तै गराइने स्तनपानले बच्चा जन्माइसकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याइ कहिले काहिँ ज्यान जोगाउन पनि मद्दत पुर्‍याउँदछ।


स्तनपानले गर्दा बच्चालाई हुने फाइदाहरु:

–आमाको दूध बच्चाको लागि शुद्ध खाना हो, पचाउन सजिलो, सजिलै उपलब्ध गराउन सकिन्छ।

–बच्चाको वृद्धि विकासका लागि आवश्यक सबै प्रकारका पोषक तत्वहरू आमाको दूधमा हुने गर्दछन्।

–यसमा एन्टिबडीसमेत हुने भएकाले विभिन्न संक्रमणबाट बचाउँछ।

–स्तनपानले मोटोपन, दम तथा एलर्जीको जोखिमलाई कम गराउँछ।

–आमाको दूधले संज्ञानात्मक विकासको लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दछ।


आमालाई हुने फाइदाहरु:

–सुत्केरी भएलगत्तै गराइने स्तनपानले बच्चा जन्माइ सकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याइ कहिले काहिँ ज्यान जोगाउन पनि मदत पुर्‍याउँछ। 

–बच्चा जन्मेपछि धेरैजसोमा देखिने पोस्टपार्टम डिप्रेसनमा कमी।

–भविष्यमा हुनसक्ने स्तन तथा अन्य क्यान्सरको जोखिममा न्यूनीकरण।

–बच्चासँगको आत्मिय बन्धनको विकास।


यी धेरै फाइदाहरु सँगसँगै घरपरिवारसँगको सम्बन्धको विकास, परिवारको आर्थिक तथा सामजिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।


आमा र बच्चाको स्वास्थ्यसँगै प्रभावकारी स्तनपानले एउटा स्वस्थ समाज र देशको विकास गर्न टेवा पुर्‍याउने भएकाले हामी सबैले आफ्नो व्यक्तिगत, संस्थागत तथा हरेक तवरले स्तनपान प्रवर्द्धनका लागि एकजुट भै लाग्न जरुरी देखिन्छ।


कमेन्ट गर्नुहोस्