
तिलोत्तमा,२०८० फाल्गुण १५ गते। सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएसंगै यो फिल्मको चर्चा देशभर भैरहेको छ । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्ल अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको बताएका छन्। बदलाको कथामा आधारित फिल्म अगत्स्यका लागि रिलिज डेट नजिकिदै जाँदा सौगात दर्शक भेट्न तराई मधेशमा केन्द्रित छन्। तराईको भूभागसंगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउदै सौगातले अगत्स्य ले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सौगात मल्लले सो कुरा बताएका हुन्। सो अवसरमा बोल्दै खलनायकका रुपमा ट्रेलरमा देखिएका बिश्वास बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पुर्ण कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुन: नयाँपन देख्ने बताए।
फिल्मका कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्म एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा रहेको सौगात मल्लको भनाई छ। भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । उनले प्रेमी र बदला लिने एक्सन चरित्रमा सशक्त अभिनय गरेका छन् । फिल्ममा एन्टीहिरोको भूमिकामा प्रमोद दमदार देखिन्छन् । नाजिर हुसेनको ‘ग्रे’ चरित्र दर्शकका लागि अर्को दर्शनीय पात्र बन्न सक्छ ।
निश्चल क्यामियो रोलमा प्रस्तुत छन् । तर, उनको चरित्र चित्रणबारे विस्तृत खुलाइएको छैन । कूल मिलाएर यो फिल्म प्रेममा हुने बदलाको कथामा आधारितजस्तो देखिन्छ । ‘लभ डायरिज’ डेब्यु निर्देशक चौधरीले यो फिल्मबाट आफूलाई स्थापित गर्न खोजिरहेजस्तो देखिन्छ । ट्रेलर हेर्दा उनको निर्देशकीय पक्षमा विकास भएको अनुमान गर्न सकिन्छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । सेभेन सिजले यसलाई अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।
कमेन्ट गर्नुहोस्