लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घोराहीमा मोही किसानको खाली खुट्टा विरोध प्रदर्शन

IMG

तिलोत्तमा सिटी २०८० फागुन १५ गते । स्वर्गद्वारी आश्रमको जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनरत किसानले घोराहीमा बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेका छन् । गुठी जग्गामा कायम द्धोध स्वामित्व खारेज गरी किसानहरूको मात्रै एकल स्वामित्व कायम हुनुपर्ने माग राख्दै फागुनको ८ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे धर्नामा बसेका मोही किसानले मंगलबार घोराही बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेका छन् । 


मोही अधिकार कार्यान्वयन गर्नुपर्ने, गुठी जग्गा रैकर गर्नुपर्ने लगायतका नारा लगाउँदै मोही किसानले खाली खुट्टा बजार परिक्रममा गरेका थिए । जग्गामा किसानहरूको एकल स्वामित्व कायम नहुँदा किसानहरूलाई जीविकोपार्जनमा समस्या भएको भन्दै आन्दोलनरत मोही किसानहरूले विरोध कार्यक्रम स्वरूप बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेको गुठी पीडित सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिनुभएको छ ।


उहाँका अनुसार सरकारले गुठी विधेयक संसदमा टेबल नगर्दासम्म किसानले जिल्ला प्रशासन कार्यालयमा निरन्तर धर्ना दिइरहने बताउनुभयो । सङ्घर्ष समितिका अध्यक्ष चौधरीले भन्नुभयो, "गुठी पीडित किसान बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । सरकारले संसदमा गुठी विधेयक टेबल नगर्दासम्म आन्दोलनबाट पछि हट्दैनौँ ।" आठ दिनदेखि धर्नामा बसेका किसानहरूको आन्दोलनमा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् ।


धर्नामा बसेका गुठी पीडित मोही किसानहरूको समस्या समाधानका लागि जिल्ला प्रशासन र राजनीतिक दलहरूसँग छलफल भएपनि समस्या समाधानका लागि केन्द्रबाटै पहल हुनुपर्ने भएकाले आन्दोलन नरोकिएको जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष देउमन दमाई बताउनुहुन्छ । स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भएको दाङमा रहेको एक हजार ५० बिगाहा जग्गामध्ये ७ सय ५३ बिगाहा जग्गामा ३ हजार बढी किसानहरूको मोही छन् । 

कमेन्ट गर्नुहोस्