लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

के बिदेशिनु मात्रै बिकल्प हो ? - बिक्रम थापा

tillotmacitynews - 2023 Dec 24 10:18 PM
IMG

तिलोत्तमा,पुष ८ गते। युवा बिदेशीनुको परिणाम राष्ट्र कमजोर हुनु तथा कसैको गुलाम बन्न सक्ने खतरा सिर्जना हुनु सरह हो।देशमा जब राजनीतिक अस्थिरता तथा भ्रस्टाचार उत्पन्न हुन पुग्छ, तब देश पिँडालुको गानामा खोइरो लागेझैं खोक्रो भएर जान्छ।देश डगमगाउन थाल्छ।साम्राज्यवादी राष्ट्रहरुले कुदृष्टि लगाउन थाल्छन।अनि देशको संस्कृति,कलाकौशल,परम्परा सम्पुर्ण ध्वस्त भएर जान्छ।देशको शान्ति र एकता भाँडिन पुग्छ।जनताले अनयासै सास्ती भोग्नुपर्छ।यतिसम्मकी आफ्नो जन्मभूमी नै छोडेर बिदेश पलायन हुनुपर्ने बाध्यतासम्म सिर्जना हुन पुग्छ।कोरियामा कुनैबेला यस्तै भएको थियो।आज हामी यसै बारेको कोरियाको पिडादयी इतिहास जान्ने छौं।


कोरियामा दुई हजार वर्ष राजाको शासन रहेको थियो।विभिन्न कालखण्डमा फरकफरक राजवंशले राज्य गरेका थिए। सिंहासन,शक्ति र पदमा निरन्तर बसिरहने लालचले जनताहरु दास,कमाराकमारी,रैती बन्न परेको थियो।स्वतन्त्र नागरिक बन्न पाउने अधिकारलाई कुन्ठित बनाई सामाज वर्गमा बाँडिएको थियो।अब वास्तविक घटना तिर लागौं।


बालक राजा गद्दिमा,नायवीको अवसर राजाका ससुरालीलाई

सन १८०० मा अचानक  राजाको मृत्यु भयो।तत्पश्चात कोरियाको सिंहासनमा बाल राजा आसीन भए।उनको सानै उमेरमा विवाह पनि भयो।बाल राजाको वैवाहिक सम्बन्धले राजाका ससुराली पक्ष दरबार प्रवेश गर्ने अवसर मिल्यो र राजाका ससुरालाई नायवी  बनाइयो।


दरबार तथा राज्यको शक्ति राजाका ससुराको मुठ्ठीमा,जनतालाई देश पलायन

राजाका ससुराले बालक राजाको फाइदा उठाएर एक हातमा राजनीति अर्को हातमा सैन्य शक्ति लिन सफल भए।अर्कोतर्फ सारा कोरियाभरी आफ्नै भाइ भतिजा,नातापाताहरु कर्मचारी तथा भारदारको रुपमा नियुक्ति गरे।भारदारहरुले देशका जनताहरुलाई दुख दिन थाले।आफुहरुले राज्यलाई कुनै कर नतिर्ने तर जनतालाई भएभरको कर लगाएर सास्ती दिन थाले।यतिसम्मकि वृद्ध,बालक तथा मरिसकेको मानिसको पनि कर उठाएर जनताको उठिबास लगाए।सामन्तीहरुले सारा खेतीयोग्य जमिन बिर्ताको रुपमा लिएर जनतालाई नाङ्गो बनाईदिए।


निरंकुश तन्त्रले लखेटिएका कोरियाली नागरिक

सन १८६१ देखि कोरियाका कथित रैतीहरु देश नै छोडेर रसिया गएर बसोबास गर्न थाले।रसियाको वञ्जर जमिनलाई कोतारेर खेतीपाती गरि जीवन जिउन थाले।उनिहरुसँग न नागरिकता थियो।नत राहदानी नै।सन १८८०सम्म बिना पहिचान लाखौं कोरियालीहरु अर्काको भूमिमा एक मुठ्ठी प्राण बचाउन बाध्य भए।अब अर्को पिडादायी पाटोको चर्चा गरौं।


साम्राज्यवादीको वक्रदृष्टि कोरियामा, कोरियाका जनतालाई पोले माथि फकुन्डो

सन १८९० को दशकमा छिमेकी देश जापान कोरियामा देखा पर्न थाल्यो।कोरियाको कमजोर राजनीतिक अवस्थालाई बुझेको जापानले कोरिया भन्ने नाम नै मेटाएर जापानी साम्राज्य खडा गर्ने दाउपेचमा लाग्न थाल्यो।देशका युवाहरु सारालाई देश बाहिर पलायन गराउन सके त्यो देशलाई खुब छिटो गुलाम बनाउन सकिने बुझेको जापानले कोरियाका युवाहरुलाई षडयन्त्र गरि धपाउने उपाया रच्न थाल्यो।अनि राष्ट्रको मुख्य खम्बा युवाहरुहरुलाई कोरियाबाट पलायन गराउन सात समुन्द्र पारिको देश अमेरिकासँग साँठगाँठ गर्न सुरुवात गर्‍यो।


कोरियाली नागरिक अमेरिका पलायन,देश वृद्ध ,महिला र बालबालिकामा सिमित

अमेरिकाको हवाई टापु उखु खेती उत्पादन हुने ठाउँ हो।त्यहाँ बिसौं शताब्दीमा नै खुब धेरै उखु उत्पादन हुने गर्दथ्यो।अमेरिकाका तत्कालीन कोरियाका  राजदुत आलेन(Horace Newton Allen)भन्ने थिए।उनले राजासँग कोरियाका युवाहरु अमेरिकाको उखु खेतिमा काम गर्न पठाउने हो भने पैसा पनि कमाउन सकिने,पढन पाइने,उनिहरुले पठाएको रेमिटेन्सले कोरिया धनी हुने प्रलोभन देखाए।सोझा कोरियाका राजाले पनि सहमत जनाए।


यसरी सन १९०२ देखि राहदानी बनाएर औपचारिक रुपमा कोरियाका युवाहरु अमेरिकाको हवाई टापु स्थित उखु खेतिमा काम गर्न जान थालनी भयो।सन १९०६ सम्म लगातार कोरियाका हजारौं  युवाहरु अमेरिकाको हवाई टापुमा पठाइयो।कोरियालाई युवाविहीन बनाइयो।कोरिया लङ्गडो बन्न पुग्यो।दुखदायी कुरा त के छभने उनिहरुलाई ५ वर्षको भिसा दिएर अमेरिकाको उखु खेतिमा काम गर्न  पठाईएको थियो।उनिहरु सन १९१० सम्म कोरिया फिर्ता भैसक्नु पर्ने थियो।तर यता सन १९०९ मा नै बाठो जापानले कोरियालाई औपचारिक रुपमा उपनिवेश बनाउन सफल भयो।कोरियालाई जापानले गुलाम बनाइसकेकोले कोरियाको राहदानी बनाएर अमेरिका गएका कोरियाली नागरिकहरु पहिचान विहीन भए।जापानले कोरियामा शासन जमाएको कारण अमेरिकाको उखु खेतिमा काम गर्ने कोरियाली मजदुर अनागरिक हुन पुगे।कोरिया फर्कन पाएनन।उतै अवैधानिक भएर नर्कको जीवन बिताउन वाध्य भए।त्यतिमात्र  नभएर त्यहिँबाट खतरनाक देश मेक्सिको सम्म पुगेर सिउँडी खेतिमा काम गरेर दासको जीवन बिताउन परेको थियो।


हाम्रो प्यारो देश नेपालमा

हाम्रो देशको इतिहास हेर्ने हो भने विक्रम संवत् १८७१ को  नेपाल अंग्रेज युद्ध पश्चात् इस्ट इन्डिया कम्पनीको लाहुरे बनेर बिदेशीने दिनको सुरुवात भएको देखिन आउँछ।लाहुर शब्द पनि त्यहिबेलादेखी जन्मेको मानिन्छ।सँगसँगै बर्मा अहिलेको म्यानमार देशसम्म पुग्ने बाटो पनि त्यहिबेलादेखी खुलेको थियो।यसरी छिमेकी देश भारत,बर्मा,बेलायत सम्म हाम्रा नेपाली पुर्खाहरु पुगेर बसोबास गर्न थालेको भेटिन्छ।विक्रम संवत् २०४६ साल पछिको केही वर्षपछि युवा दाजुभाइहरु विभिन्न देशमा बिदेशीने क्रम सुरुवात भयो।वर्तमानमा हामी नेपाली नपुगेको देस छैन।हाम्रो देश नेपाल दिनप्रतिदिन युवाविहीन बन्दै गईरहेको छ।यो अवस्थालाई रोक्ने अभियान चलोस।हाम्रा हरेक नेपाली छोराछोरीहरु बिदेश पलायन हुन नपरोस।हाम्रो प्यारो देश नेपाल सदा बाँचिरहोस।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि विदेशीन नपरोस्। 

कमेन्ट गर्नुहोस्