
तिलोत्तमा, असोज २७ गते २०८०।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व लक्षित सुरक्षा योजना २०८० सार्वजनिक गरेको छ । दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरी शुक्रबार भैरहवामा पत्रकार सम्मेलनमार्फत रुपन्देही प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार यो सुरक्षा योजना असोज २१ गते घटस्थापनादेखि छठ पर्वसम्म लागू हुनेछ ।चाडपर्वको समयमा अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झैझगडा हुनसक्ने भन्दै यस्तालाई निस्तेज पार्न सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले बताए ।
जसअन्तर्गत जिल्लामा १ हजार २९ जना प्रहरी परिचालन गरिने योजना एसपी वि.क.ले बताए । योजना अन्तर्गत प्रहरी उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरी परिचालन गरिने प्रहरीले जनाएको छ । त्यस्तै ४३ वटा पिकेट, २४ सै घण्टा १८ वटा पैदल गस्ती, मोटरसाइकल गस्ती ५० वटा, गाडी मोबाइल, क्यूआरटी परिचालन.चेकिङ १७ वटा, क्रस पेट्रोलिङ, १ वटा आरएससीसी चेकिङ, विशेष चेकिङ लामो दुरीको ११ वटा परिचालन गरिने एसपी वि.क.ले जानकारी दिए ।त्यस्तै रिजर्व/स्टाईकिङ ४० जना, नियमित ट्राफिकसहितको संयुक्त चेकिङ १९ स्थानमा, सीमा नाकामा चोरी तस्करी नियन्त्रण अन्तर्गत २४ स्थानमा परिचालन गर्ने, कर्डन एण्ड सर्च/एम्बुस १७ स्थानमा परिचालन गरिने रुपन्देही प्रहरीले जनाएको छ ।
त्यस्तै बेलहिया, बसपार्क भैरहवा, बुटवल, लुम्बिनी र कालीदह नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।त्यसै गरी जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनमा प्रहरी परिचालन गर्ने प्रहरीले जनाएको छ । आवश्यकता अनुसार थप पिकेट, चेकिङ, मोबाइल लगायतका अन्य डिउटीहरु परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए । ‘समग्र जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाइ राख्न चाडपर्वको सुरक्षार्थको लागि विभिन्न रणनीति अपनाई जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको छ, ’डीएसपी भट्टले भने ।
कमेन्ट गर्नुहोस्