
तिलोत्तमा सिटी । भाद्र २१ गते । अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घामा लाखे नाच नाचिएको छ । ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरबार (परापूर्वकालमा बाइसे चौबिसे राज्यको रूपमा रहेको स्थान) मा श्री कृष्ण जन्माष्टमीको दिन सदियौँदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो । भगवान् शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुसियालीमा लाखे नाच्ने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताउनुभयो ।
भगवान् शिवको प्रतीकको रूपमा कालभैरव जस्तै गरी लाखे नाचिने परम्परा रहेको उहाँको भनाइ छ । लाखे नाच अर्घामा प्रसिद्ध छ । पञ्चेबाजाको तालमा छमछमी नाचिने यो नाच हेर्न अर्घाखाँचीसँगै आसपासका जिल्लाबाट मानिसहरू आउने गरेका छन् । लाखे नाचपछि यस ठाउँमा तिजको गीत गाउने र नाच्ने गरिन्छ । पञ्चेबाजाको तालमा सात तालसम्म नाचिने यस नाचमा लाटो खिजाउने पनि सँगै नाच्ने प्रचलन छ । अन्य ठाउँमा यसलाई कालिका नााच, काल भैरव नाच लगायतको नामले पनि चिनिन्छ ।
कमेन्ट गर्नुहोस्