लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘बगान’ को ट्रेलर सार्वजनिक, फिल्म युनिट देश दौडाहामा

IMG

तिलोत्तमा,२२ असार २०८० साल।गत बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘बगान’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एकल आमाको संघर्ष, सामाजिक द्वन्द्व, चाहना र सन्तानप्रतिको दायित्वलाई देखाईएको छ । ट्रेलरमा आमाको भूमिकामा रहेकी करिश्मा मानन्धर र छोरीको भूमिकामा रहेकी बुटवलकी प्रमिला कार्कीको अभिनयले ट्रेलरमै दर्शकको प्रसंशा बटुलेको छ ।ट्रेलर सार्बजनिक गरिएको चलचित्रको टोली अहिले मोफसल देश दौडाहामा रहेको छ।  फिल्मको बारेमा दर्शक संग प्रत्यक्ष भेटेर फिल्म हेर्न निमन्त्रणा गर्न चितवन, बुटवल , पोखरा जाने कार्यक्रम रहेको निर्माण युनिटले बताएको छ। सो अनुसार शनिबार चितवन र बुटवलमा पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरिएको छ।   


आयोजित कार्यक्रममा ट्रेलर देखाईएपछि उनीहरू दुवैलाई बधाई दिईएको थियो । ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रूपमा अभिनेता तथा यस चलचित्रका निर्देशक सरोज खनाललाई देखाईएको छ । अभिनेत्री कार्कीको प्रेमीको रूपमा अभिनेता आकाश श्रेष्ठलाई राखिएको छ । अभिनेता नीर शाहलाई पुरातनवादी सोच राख्ने पात्रको रूपमा राखिएको छ भने अभिनेत्रीद्वय बसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि ट्रेलरमा समेटिएको छ ।


वास्तविक जिबन र समाजको यथार्थ चित्रण गरिएको भूमिकामा रहेर काम गर्दा निकै भावुक भएको अभिनेत्री करिश्मा मानन्धरले बताईंन।  

कार्यक्रममा बोल्दै नायिका प्रमिला कार्कीले आफू भन्दा सिनियर कलाकारहरूको सहायताले पर्दामा भूमिकालाई जिवन्त बनाउन सकेको प्रतिक्रिया दिईन् । उनले भनिन् ,’मभन्दा अनुभवी र पुराना कलाकारले समेत मलाइ सहज बनाइ दिनुभयो । मेरो वास्तविक जीवनसँगै मिल्ने स्वभाव यसमा देखाईएको छ । म एक किसिमले मेरो व्यक्तिगत जीवनसँग नजिक रहेको पात्रमा छु ।’


कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए । उनले भने,’आज हामीले ६ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर निशुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ ।’


‘बगान’ मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, सन्देश शाहले सम्पादन, समिर मियाँले भि.एफ.एक्स. तथा रेनिश फागोले रंग संयोजन गरेका छन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।  


कमेन्ट गर्नुहोस्