लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक कुरिती बिरुद्धको फिल्म ‘क्रस्ड विङ्स’ प्रदर्शन

IMG

तिलोत्तमा, वैशाख २२ गते । बुटवल सुख्खा नगर घर भै लामो समय देखि बेलायत बस्दै आएका कुशल फिल्मकर्मी तथा निर्देशक ललित भुसाल निर्देशित फिल्म ‘क्रस्ड विङ्स’ नेपालमा पझिलो पटक बुटवलमा प्रिमियर हुने भएको छ। शनिबार बिहान द्वारिका सिनेमा हल बुटवलमा प्रदर्शन गर्न लागिएकोसो फिल्म अमेरिकाको मिसिगनमा हुने रोयल स्टार फिल्म फेस्टिभलमा छनोट भएको थियो। सो फिल्म सामाजिक कुरिती र कुसंस्कार बिरुद्ध बुलन्द आवाज भएको निर्देशक भुसाल बताउछन। उक्त फिल्म अहिलेसम्म ५० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आधिकारिक छनोट भई विभिन्न विधामा पुरस्कृत भएको छ । सानै छँदा बालिकाको संवेदनशील अंग काटिदिने कुप्रथासँग सम्बन्धित यो विश्वकै पहिलो अंग्रेजी फिल्म भएको निर्देशक भुसालले बताए । सांस्कृतिक रीतिका नाममा फैलिएको बाल शोषणको कठोर यथार्थतर्फ आँखा खोल्न फिल्मले बाध्य पार्ने उनको दाबी छ ।


बेलायत, भारत र नेपालका आकर्षक स्थानमा छायांकन गरिएको उक्त फिल्मको कथा एसियाको कुनै गाउँमा हुर्किरहेकी सानी बालिका रियाको दुर्भाग्यपूर्ण जीवन यात्रा वरपर घुम्छ । उनी ७ वर्षकी हुँदा कुरीतिको सिकार हुन्छिन् । रिया जस्ता अनेकौं देशका पीडित बालिकाको तीतो भोगाइमा आधारित उक्त फिल्मको कथाले बाल शोषणको वास्तविकता र यसले पार्ने शारीरिक अनि मानसिक असर उजागर गरेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार अहिले २० करोडभन्दा बढी महिला र बालिका जबर्जस्ती यो समस्याबाट गुज्रिनुपरेको छ । तिनीहरूमध्ये कतिले ज्यान पनि गुमाएका छन् । बेलैमा कानुनी तरिकाले रोक्न नसके सो कुप्रथाका कारण ज्यान गुमाउने महिला र स–साना बालिकाको संख्या आगामी १५ वर्षमा निकै बढ्ने आकलन भुसालको छ ।


‘मैले यो कुसंस्कारका विषयमा कुनै पनि फिल्म बनेको थाहा पाइनँ । एसियाको करोडौं डलरको फिल्म उद्योग र पश्चिमा सिने उद्योगले पनि यसलाई समेटेको देखिनँ । त्यसपछि मैले यसबारे गहिरो अनुसन्धानपछि थालनी गरें,’ उनले सुनाए । फिल्ममार्फत सामाजिक तथा सांस्कृतिक कुरीतिविरुद्ध आवाज उठाउनु आफ्नो उद्देश्य रहेको उनी बताउँछन् । नेपालमा समेत यस खालको कुरीति रहेको हुन सक्ने उनको विश्वास छ ।फिल्म बनाउनुअघि भुसालले विश्वका विभिन्न ठाउँका महिलासँग अन्तर्वार्ता लिएका थिए । लन्डन र बुटवलमा समेत छायांकन भएको सो चलचित्रमा नेपालसहित संसारभरका स्थापित र आकांक्षी झन्डै ५० जना कलाकार समेटिएका निर्देशक भुसालले जनाए ।




क्याम बुद्ध फिल्म्स लिमिटेडले निर्माण गरेको उक्त फिल्मले पेरिसमा आयोजित इन्टरनेसनल चिल्ड्रेन केयर फिल्म फेस्टिभल ०२२ मा अडियन्स अवार्ड, एडोल्फ जुकोर इन्टरनेसनल फिल्म फेस्टिभल हंगेरी ०२२ मा अडियन्स अवार्ड, द ग्लेडिएटर फिल्म फेस्टिभल इस्तानबुल टर्की २०२१ मा वेस्ट ड्रामा फिल्म अवार्ड जितेको छ । यस्तै सान डिएगो मुभी अवार्ड्स अमेरिका २०२२ मा वेस्ट फिचर फिल्म, ब्रिज फेस्ट भ्यानकोभर क्यानडा २०२१ मा वेस्ट फिल्म अवार्ड, गोल्डेन हार्भेस्ट फिल्म फेस्टिभल जापान २०२१ मा वेस्ट फिचर फिल्म अवार्ड, ग्लोबल इन्डी फिल्म फेस्टिभल स्कटल्यान्ड यूके २०२२ मा ब्रोन्ज अवार्ड, ड्रामाटिका फिल्म फेस्टिभल बार्सिलोना स्पेन २०२१ मा वेस्ट ड्रामा फिल्म अवार्डलगायत कैयौं सम्मान प्राप्त गरिसकेको छ ।


उक्त फिल्मका कलाकार र प्राविधिकले पनि विभिन्न अन्तर्राष्ट्रिय विधामा पुरस्कार पाएका छन् । बुटवल स्थायी घर भएका ललित भारतीय सैनिक तथा पछिलू समयका पत्रपत्रिकाका लेखक समेत रहेका श्याम प्रसाद भुसालका छोरा हुन् । उनी भारत हुँदै सन् २००० देखि बेलायतमा छन् । सन् १९९४ ताका बलिउडमा निकै संघर्ष गरेको उनी स्मरण गर्छन् । केही समय मोडलिङ पनि गरे । सन् २००३ तिर एउटा बलिउड फिल्ममा अभिनय गरे पनि उक्त फिल्म रिलिज नभएपछि दिक्क भएका उनी आफैंले केही गरौं भन्ने अठोटका साथ निर्देशनमा होमिएका हुन् ।


कमेन्ट गर्नुहोस्