
तिलोत्तमा,२०७९ माघ ६ गते। प्रसिद्ध गायक स्वप्न सुमनले चलचित्रमा अभिनय गर्ने भएका छन् । फरक चलचित्रमा काम गर्न रुचाउने निर्देशक दिनेश राउतले निर्देशन गर्ने एक चलचित्रमा उनि प्रमुख भुमिकामा छानिएका हुन् ।उनले नाम सार्वजनिक नगरिएको उक्त चलचित्रको लागि अडिशन दिएका थिए । उनिसँग ६ महिना अगाडी नै सम्झौता भएको लेखक विकास सुबेदीले बताए । चलचित्रलाई सुहाउने चरित्र खोज्ने क्रममा स्वप्नसँग अडिशन लिएको सुवेदीले बताए ।
यो चलचित्रको लागि स्वप्नले केहि समय अभिनय कक्षा समेत लिएका थिए । लेखक सुवेदीले यो चलचित्रमा शहरी क्षेत्रको कथा रहने पुष्टी गरे ।”शहर भन्ने बित्तिकै हामीले विकसित ठाउँको रुपमा लिन्छौँ । वास्तविक शहर बन्न भौतिक विकास भएर मात्र हुँदैन, त्यहाँ रहने मानिसहरुको चेतनाको पनि विकास हुनु जरुरी छ । त्यसकै कमजोरी यो चलचित्रमा पाईनेछ”, ठुलोपर्दासँग कुरा गर्दै उनले भने, “आवरणमा हाम्रो समाज जस्तो देख्छौँ वास्तविकतामा त्यस्तो छैन । हामीले चलचित्रमार्फत त्यहि नै देखाउने छौँ।” सुवेदीले कथामा प्रेम र समाजको सामञ्जस्यको प्रश्न रहेको उल्लेख गरे ।छायांकन वैशाखदेखि सुरु हुने चलचित्रकी नायिका भने छनौट हुन बाँकी नै छ । चलचित्रको रिलिज योजना आगामी दशैँमा रहेको छ ।
कमेन्ट गर्नुहोस्