लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली अनुसन्धानकर्ताले पत्ता लगाए संसारमै अभिलेख नभएको वनस्पति

IMG

नेपालमा तिउरीका ५७ वटा प्रजातिको अभिलेख, ८ वटा चाही रैथाने

नेपालका एक जना वनस्पति अनुसन्धानकर्ताले विज्ञानकै लागि नयाँ प्रजातिको वनस्पति पत्ता लगाएका छन् । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा संसारकै लागि नयाँ रहेको पत्ता लगाएका हुन् । यससम्बन्धी विस्तृत विवरण अघिल्लो महिना प्रकाशित प्लस वान जर्नलमा उल्लेख छ ।५७ पुष्ठ लामो उक्त अनुसन्धानात्मक आलेखमा यो वनस्पतिको बारेमा विस्तृत विवरण राखिएको छ । यसको वैज्ञानिक नाम 'इम्पेसियन्स निम्सपुर्जेए' राखिएको छ । पर्वातारोही निर्मल पूर्जाले पर्वातारोहण र संरक्षणका लागि गरेको कामको मूल्यांकन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले बताए ।


गण्डकी प्रदेशको म्याग्दी जिल्लाको मोरेनी क्षेत्रमा २८ सयदेखि २९ सय मिटरको उचाइमा यो वनस्पति उनले सन् २०११को अगस्ट २५मा फेला पारेका थिए ।अनुसन्धानकर्ता भक्तबहादुर रास्कोटीले विज्ञानकै लागि पहिलो पटक अभिलेख गरेको तिउरी प्रजातिको निम्सपुर्जेए वनस्पति ।हेर्दा अन्य प्रजातिभन्दा केही भिन्न देखिएपछि उनले अध्ययनका लागि यसका नमुनाहरु संकलन गरेर राष्ट्रिय हर्बेरियम प्रयोगशाला र त्रिवि हर्बेरियम विभागमा अभिलेखका लागि राखेका थिए । यो बिरुवाको विश्वमै पहिलोपटक अभिलेख भएकाले यसको अन्य अवस्थाबारे विस्तृत अध्ययन भएको छैन । मोलिक्युलर अध्ययन तथा अन्य विस्तृत विवरणसहितको अध्ययन गर्दा प्रजातिको अभिलेखमा धेरै वर्ष लागेको उनले बताए ।


यो प्रजाति इम्पेसियन्स हारी, इम्पेसियन्स रेडियटा, इम्पेटियन्स वालिचीसँग नजिक देखिएपनि भिन्न रहेको छ । यो वनस्पतिको डाँठबाट आउने फूलको संख्या ३ वटा मात्रै हुने, फराकिलो स्पर र फूलको पात(पेटल) रहेका जस्ता गुणबाट अन्यभन्दा फरक रहेको पाइएको हो ।नेपालका लागि पहिलो पटक अभिलेख भएको एम्पेसिएन्स इन्फन्डिबुलरिस प्रजाति ।


यस्तै, यसको आनुवांशिक(फाइलोजेनी) अध्ययनमा न्यूक्लियर जिन र क्लोरोपास्टका दुई वटा जीनको विश्लेषण गर्दा फरक पाइएको थियो ।विज्ञानका लागि नयाँ प्रजाति हुनका लागि वनस्पतिको फूलको बनावटमा कम्तीमा दुई वटा सोभन्दा बढी भिन्नता हुनुपर्ने र मोलुक्यूलर विवरण पनि फरक हुनुपर्ने अनुसन्धानकर्ताहरु बताउछन् । रास्कोटी भन्छन्,‘न्यू टू साइन्स हुनका लागि कुनै न कुनै क्यारेक्टरमा फूलको बनावट फरक हुनुपर्छ । ’वनस्पतिहरुको वर्गीकरण र पहिचानमा तीनको फूल र डीएनए र बाहिरी आवरणलाई आधार मानेर गरिन्छ ।विद्यावारिधी र पोस्टडकको अध्ययन पूरा गरेका अनुसन्धानकर्ता रास्कोटी फ्लोरा अफ नेपाल लेखनको अर्किडेसी समूह लेखनको योगदानकर्ता पनि हुन् ।


रास्कोटीले नेपालका लागि पहिलो पटक अभिलेख गरेको इम्पेसिएन्स सिक्किमेन्सिस प्रजाति ।

यसैबीच अनुसन्धानकर्ता रास्कोटीले नेपालका लागि थप ५ वटा तिउरी प्रजातिको अभिलेख पनि गरेका छन् । इम्पेसिएन्स ब्राचीसेन्ट्रा, इम्पेसिएन्स काटकर्ठी, इम्पेसिएन्स ज्ञामीई, एम्पेसिएन्स इन्फन्डिबुलरिस र इम्पेसिएन्स सिक्किमेन्सिस प्रजाति नेपालका लागि नयाँ अभिलेख भएका हुन् । यो सँगै नेपालमा तिउरीका अब ५७ वटा प्रजाति नेपालमा अभिलेख भएका छन् । यस्तै,तीमध्ये ८ वटा प्रजाति नेपालमा मात्रै पाइने उक्त अनुसन्धानमा उल्लेख छ । वनस्पति जगतको बाल्सामिनेसी परिवारभित्र इम्पेसियन्स जेनस(तिउरी) पर्छ । यो परिवारका दुई वटा जेनस भएपनि नेपालमा तिउरी प्रजातिहरुमात्रै पाइन्छन् ।


तिउरीलाई फुलको रुपमा रोप्ने तथा जडिबुटीको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । सहरबजारमा यसका हाइब्रिडहरु पनि घरमा सजावटको रुपमा प्रयोग हुने गर्छ । नेपालको ८ सय मिटरदेखि माथि ४५ सय मिटर उचाइसम्म यो प्रजातिको अभिलेख भएको छ ।फूलबारीमा प्रयोग हुने यो वनस्पति प्राय: सबै जंगल(वाइल्ड)मा पाइएको छ । यो प्रजाति विशेष गरेर घाँसे मैदानहरुमा पाइन्छ । प्राय: गरेर यिनीहरु ओसिलो ठाउँमा भेटिएका छन् ।

तस्बिरहरू सौजन्यः भक्तबहादुर रास्कोटी ।

कमेन्ट गर्नुहोस्