
जुन दिन मलाई क्यान्सर भएको थाहा भयो तब मेरो मनस्थिति पूर्ण रुपमा बिग्रियो। मैले अब जीवनमा केही गर्न सक्दिन जस्तो भान भयो। कुनै पनि कुरामा आनन्द आउन छोड्यो। खुसी र सुख भन्ने कुरा जीवनमा अब कहिल्यै आउँदैन जस्तो लाग्यो।समय सँगै उपचार हुँदै गयो र नियमित औषधि खानुपर्ने भयो त्यसपछि मलाई ठिक हुँदै गयो। मैले बिस्तारै फेरि मेरो जीवनमा सुख र खुसी फर्किएको महसुस गर्न थाले। तर पनि जीवन क्यान्सर नलाग्दाजस्तो कहिल्यै हुन सकेन सधैं केही कमी भएजस्तो महसुस हुन्थ्यो। जति नै कमी भएपनि जिन्दगी त अगाडि बढाउनै पर्दो रहेछ।
बिस्तारै म फेरि आफ्नो काममा फर्किन थाले। नियमित औषधि सेवनसँगै म आफ्नो काम गर्दै थिए तर पनि मलाई लाग्थ्यो ममा केही कमी छ। त्यसैले गर्दा म पूर्णरुपमा खुसी महसुस गर्न सकिन। फेरि केही समयपछि मलाई इन्फेक्सन भयो र म हस्पिटल भर्ना हुन पर्यो। १५ दिनको हस्पिटल बसाईपछि म घर आए र रेस्ट गर्न थाले। फेरि मेरो काममा बाधा आयो र मेरो मनस्थिति अब काम बाट पर भयो। घर आएको एक हप्तापछि फेरि ज्वरो आउन थाल्यो र म हस्पिटल गएँ। त्यसपछि डाक्टर साहबले सिटी स्क्यान गर्न भन्नुभयो र मेरो किड्नी भन्दा माथिपट्टि मासु पलाए जस्तो कुरा गर्नुभयो। अनि त्यस भागको बायोप्सी गर्न भन्नुभयो र मैले बायोप्सी गरे र मलाई पत्ता लाग्यो कि मलाई एड्रिनल ग्ल्यान्डको टिभी भएको रहेछ। जुन दिन मैले त्यो खबर सुने म साह्रै खुसी भए किनकि डाक्टर साहबले ट्युमर जस्तो छ भन्नुभएको थियो तर टिभी रहेछ।
पछि डाक्टर साहेबलाई देखाउँदा डाक्टर साहब खुसी हुनुभयो,आफन्तजनहरू पनि खुसी हुनुभयो। टिभीको औषधि नौ महिना जति खानुपर्ने कुरा डाक्टर साहबले गर्नु भयो। अहिले नियमित म टिभीको औषधि सँगै क्यान्सरको औषधि खाँदै छु।
क्यान्सर भएदेखि मैले बुझेको र मनन गरेको कुरा धेरै छन्।
१. जीवन अमूल्य छ यसको मूल्य हामीले छिट्टै बुझ्नुपर्छ।
२. जीवनमा मायाजस्तो अरु कुरा केही छैन त्यसैले सबैलाई मायागरौं , तपाईँको मायाले अरुको जीवनमा ठूलो सहयोग गर्दछ।
३. आफ्नो स्वास्थ्यको लागि नियमित ख्याल राख्नुपर्छ।
४. तपाईँलाई सहयोग चाहिन्छ त्यसैले अरुको साथ र सहयोग लिनुहोस्।
५. तपाईँको बाबुआमा श्रीमती र आफन्तहरू जस्तो सहयोगी अरु कोही पनि हुँदैनन्।
६. अरुलाई दुःख परेको बेला सहयोग गर्नुपर्दछ।
७. आफू कमजोर भएको बेला भगवानसँग जोडिनु पर्दछ र जीवनमा राम्रा मान्छेको संगत र राम्रो किताब पढ्नु पर्दछ।
९. क्यान्सर हामीले सोचेजस्तो खतरा पनि छैन नियमित उपचार ,औषधि सेवन , लाइफस्टाइल सुधार ,राम्रो खानपिन र नियमित व्यायाम ले धेरै मद्दत गर्दछ।
१०. सबैभन्दा ठूलो कुरा आफूलाई ठिक नलागेको कुरा गर्नु हुँदैन र नकारात्मक सोच हटाउनु पर्दछ।
कमेन्ट गर्नुहोस्