लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सदाबाहार नायक : महेन्द्र गौतम

IMG

 तिलोत्तमा सिटी न्युज, भदौ ११  गते २०७९। नेपाली लोक सांगीतिक गीति भिडियोमा महेन्द्र गौतम चिनिएको नाम हो । गुल्मीमा जन्मिएका गौतम १५ वर्ष अघिदेखि मोडलिङ क्षेत्रमा सक्रिय छन् । मिहिनेत र संघर्षले सफलता हासिल गरेका गौतम गीति भिडियोमा निकै चलेका कलाकार हुन् । वि.सं. २०६५ सालबाट मोडलिङ यात्रा सुरु गरेका उनले एक हजार हाराहारीमा गीति भिडियोमा मोडलिङ (अभिनय) गरिसकेको सुनाए । सानै उमेरदेखि जे कुराको पनि नक्कल गर्न सिपालु उनी एसएलसी सकिएपछि २०५८ सालमा काठमाडौं हानिए । प्लटुको पढाइ सकेर पशुपति क्याम्पसमा बिबिएस पढ्न थालेसँगै आफ्नै दाईको कुकिज (वेकरी) पसलमा काम गरेको उनी सम्झिन्छन् । गौतमले अभिनयमा लाग्ने भित्रैदेखिको चाहना भए पनि आफूले खासै महत्व नदिएको सुनाउँदै भने, ‘एकदमै धेरै नै लगाव त थिएन तर भित्रैबाट केही इच्छा चाहिँ रहेछ नाच्नमा । पढ्दै गर्दा डान्स पनि सिक्ने अवसर पाएँ ।’

त्यसक्रममा उनको कलाकार शंकर बिसीसँग चिनजान भयो । कमलादी बस्ने गरेका बिसीले एकदिन विज्ञापन खेल्न जाँदा गौतमलाई पनि सँगै लगेका थिए । गौतमको पहिलो क्यामेरा फेस हिमस्टार चिमको विज्ञापन थियो । त्यो विज्ञापनमा देखिनुअघि मोडलिङ गर्ने सोच खासै थिएन । त्यसपछि पनि यसमा उनको खासै रुचि थिएन । उनको विषय व्यवस्थापन भएकाले व्यापार नै गर्न चाहन्थे । बिसीसँग राम्रै सम्बन्ध बनाइसकेका उनी एकपल्ट आफ्नै दाजुको गीत सुटिङ हुँदा चितवन पुगेका थिए । त्यतिवेला साइड ‘ए’ र साइड ‘बि’ भन्ने चलन थियो । बि साइडलाई खासै महत्व दिइँदैन्थ्यो । भिसिडीमा भिडियो पु¥याउनको लागि भन्दै बिसीले गौतमलाई ‘कस्तो भयो भुल’ भन्ने गीतमार्फत मोडलिङमा डेब्यु गराए । उनले पहिलो पटक रञ्जिता गुरुङसँग त्यो भिडियोमा खेले ।

उक्त गीतको भिडियो बजारमा आएन । जेहोस् त्यो गीतपछि महेन्द्रले निरन्तर गीतको भिडियोमा मोडलिङ गर्दै आएका छन् । डेढ दशकको अवधिमा एक हजार हाराहारीमा गीति भिडियोमा नृत्य तथा अभिनय गरिसकेको उनले जानकारी दिए । सुरुवात्मा राम्रै बजार पाएको बताउँदै गौतमले अहिले भने नयाँ पुस्ताको आगमनले अलि कम हुँदै गएको सुनाए । उनले भने, ‘समय अनुसार मानिस पनि परिवर्तनशील छ, त्यसै अनुरुप पनि गीत संगीतको धार परिवर्तन हुँदै आएको छ ।’

समय–परिस्थिति अनुसार सबै भिडियो तथा गीत राम्रा नै बनेको उनको दाबी छ । उनले अभिनय गरेको र चर्चामा आएको पहिलो गीत भने ‘मैले मन पराएको छु’ हो । त्यतिबेलै उनले अभिनय गरेको शिव हमालको ‘खुसी छैन म’ र खुमन अधिकारीको ‘लग्यो पराईले’ गीत पनि चर्चामा आएका थिए । महेन्द्रका मैले मन पराएको छु, खुसी छैन म, झिम्काइदेउ परेली, अधेरीजस्तै जुन बिनाको, नियति, कि सम्झिन सानीले, कल्पनामै भएनि, किन आउँछ तिम्रो याद, जुनकिरी, मायालु हजार, लाउँछ माया, सान्नानी निकै चलेका गीति भिडियो हुन् ।

उनले राष्ट्रिय लोक दोहोरी अवार्ड (३) पटक, राप्ती म्युजिक अवार्ड (२) पटक, बिन्ध्यावासिनी म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, नेपाल संगीतकर्मी अवार्ड, ओएस म्युजिक अवार्ड, नाट्यस्वरी म्युजिक अवार्ड, सुन्दरादेवी म्युजिक अवार्ड लगायत दुई दर्जनभन्दा बढी अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन ।

मोडलिङ क्षेत्रमा लागेकै कारण घरपरिवारले खासै गुनासो नगरेको उनले सुनाए । उनले भने, ‘गीत संगीतमा लागेर मैले आमालाई सुखी पाएको छु । अभिनय तथा मोडलिङमा लागेर सबैभन्दा खुसी त आमा नै हुनुहुन्छ । आमा र दिदीकै कारण पनि नयाँ नयाँ भिडियो गर्न प्रेरणा मिलेको हो ।’ बुवा स्व. केशवराज गौतम र आमा रमि गौतमको कान्छो सन्तान महेन्द्रले सुटिङ गर्दैगर्दा बुवा बितेको खबर पाएको सुनाए । उनले भने, ‘म सुटिङ सेटमै थिएँ बुवा बित्नुभएको खबर आएको थियो । यो चोखो माया मर्दैन गीतको सुटिङ हुँदै गर्दा त्यस्तो खबर आएपछि अन्तिम अन्तराको भिडियो सुटिङ नगरिनै फर्किएको थिएँ ।’

गीति भिडियो नै गरेर दैनिक जीवन बिताउन अझँ भनौं सामान्य खालको भिडियो तथा अभिनयले त गाह्रो नै रहेको उनले बताए । गौतमले भने, ‘चलेको गीत तथा भिडियो हो भने यो काममा लागिरहँदासम्म अफ्ठयारो हुँदैन । तर बचत गरेर भविष्यमा केही अरु गर्नलाई गाह्रै छ ।’ भविष्यमा अरु नै व्यवसाय गर्ने उनको योजना छ । व्यवसाय थाले पनि कोभिडका कारण सफल नभएको उनले बताए । भविष्यमा ट्रेड बिजनेस गर्ने उनको सोच छ । उनले स्टुडियो तथा अन्य व्यापारमा हात हाल्ने योजना बने पनि सुरु गर्न नसकिएको सुनाए । उनको सुटिङ स्टुडियो खोल्ने भनेर लगानी गरे पनि त्यो डुबेको बताए । गीत गाउन पनि रहर गरेका उनले एउटा तिजसहित ४ वटा गीत गाएका छन् । एउटा तिज गीत, एउटा लोकगीत ‘झिल्के’, पप खालको गीत पनि गाएको उनले सुनाए ।

एउटा भिडियोमा अभिनय गरेको न्युनतम २५ हजारभन्दा बढी नै लिने गरेका गौतमलाई गीत संगीतमा आफ्नो माग भने औसतमा रहेको लागिरहेको छ । उनले भने, ‘समय परिवर्तनशील छ, कुनैवेला अलि दुःखमा ‘स्लो’ गीत चल्थे भने हाल डान्सिङ विटका गीत चल्छन् । म स्लो विटका गीत बढी गर्ने भएकोले अलि कम भएको होकि जस्तो लागेको छ ।’

सरकारले कलाकारका लागि रोयल्टीको व्यवस्थापन राम्रो गरिदिनु पर्ने उनको माग छ । सरकारले व्यवस्थित गरिदिने हो भने सबै कलाकार कर तिर्नसमेत तयार रहेको उनले बताए । आफू जन्मिएको माटोका लागि मोडलिङबाटै ठुलै काम गर्न नसके पनि स्वर्गीय बुबाको नाममा चौतारो (प्रतिक्षालय) बनाउनेदेखि विद्यालयमा सक्दो सहयोग गरेको उनले बताए ।


कमेन्ट गर्नुहोस्