लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विभेदको बिषयमा बनेको फिल्म ‘प्रकाश’ प्रदर्शनमा पनि विभेद

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १०  गते २०७९।  खराब राजनीतिले समाजका युवाहरुमा कस्तो प्रभाव पर्छ भन्ने बिषयलाई टपक्क टिपेर बनेको फिल्म प्रकाश आज देखि देशभर प्रदर्शन मा आएको छ। जुम्लाको एक युवा आफ्नो करियर बनाउने होडमा कसरी पछारिन्छ भन्ने कथा बोकेको फिल्म प्रदर्शनमा विभेद गरिएको भन्दै फिल्म ‘प्रकाश’ टिमले प्रदर्शकप्रति असन्तुष्टि व्यक्त गरेको छ । रिलिजको पहिलो दिन शुक्रबार दिउँसो रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै निर्माता र अभिनेता हलप्रति आक्रोशित देखिए ।अभिनेता प्रदीप खड्काले हिन्दीको तुलनामा नेपाली फिल्मलाई कम शो दिएर प्रदर्शकले विभेद गरिएको आरोप लगाए । ‘हामीलाई अपमान महसुस भएको छ,’ उनले भने, ‘हाम्रो फिल्मलाई फ्लप बनाउन खोजियो ।’बिहीबार रिलिज भएको भारतीय फिल्म लाइगरभन्दा नेपाली फिल्म प्रकाशलाई निकै न्यून शो दिइएको र शोको उचित बाँडफाँट नभएको भन्दै उनी क्रुद्ध सुनिए ।


उनले भने, ‘प्रदर्शकसँग मेरो चित्त दुखाइ र गुनासो केही होइन । कन्फयुजन चाहिं हो । मलाई अचम्म लाग्यो, यो खालको अपमान किन हो ? व्यक्तिगत रुपमा त मेरो कसैसँग रिसइबी छ जस्तो लागेको छैन मलाई । नियतमा खोट देखेको छु मैले । हामीलाई अपमान महसुस भयो।’अपमान महसुस भएकैले निर्देशक दिनेश राउत पनि पत्रकार सम्मेलनमा नआएको प्रदीपले बताए । ‘मेरो आवेग होइन, कन्फ्युजन हो फिल्मवाला र प्रदर्शकप्रति,’ उनले भने ।नेपाली फिल्मलाई संरक्षण गर्नेतर्फ सहयोग नभएको गुनासो उनले गरे । ‘नेपालमा सरकारी कोटा किन छ त ? जो दयनीय अवस्थामा छ र जो अझै पीडित देखिन्छ । उसलाई सपोर्ट होस् भनेर राख्या हो नि त । त्यो सपोर्ट नेपाली फिल्म उद्योगभित्र किन छैन त ?’


कन्नड फिल्म केजीएफ २ प्रति लक्षित गर्दै उनले भने, ‘नेपाली फिल्म पीडित छ भन्ने त सबैले मान्नुहुन्छ होला । त्यहाँ किन आरक्षण कुराहरु छैन होला त ? मेरो भनाइ के हो भने राति १ बजे हाउसफुल हुने फिल्म लाग्दा पनि त ३० शो पाएकै हो ।’बिहीबार रिलिज भएको भारतीय फिल्म ‘लाइगर’तर्फ लक्षित गर्दै उनले अगाडि भने, ‘हाम्रो फिल्मसँग जुन लाग्दैछ, त्यो फिल्म त रातिको १ बजे त के फ्री शो लगाउँदा पनि मान्छेहरु आउँदैनन् जस्तो लागेको छ मलाई । त्यस्तो रिभ्यु आएको छ । त्यसको बाबजुद पनि हामीलाई दिएको छ कस्तो शो ?आफूले निजी स्वार्थभन्दा सामूहिक फाइदाका लागि आवाज उठाएको उनले बताए । ‘कलाकार मात्र भएको भए म मज्जाले सुत्नुपर्ने थियो । तर दुई रात भयो, म तीन घण्टाभन्दा बढी सुतेको छैन । मलाई एक्स्ट्रा एक रुपैयाँ पनि आउनेवाला छैन फिल्मबाट । प्रेमगीत ३ ले कसैले नराखेको रेकर्ड राख्छ भन्ने कुरामा म ढुक्क छु । तर त्यसको बाबजुद पनि किन चिन्तित छु भने यस्तो प्रवृत्तिले धेरैलाई फरक पार्छ,’ उनले भने ।


प्रदीपले नेपाली फिल्मले शो नै नपाउने हो भने चोकचोकमा प्रोजेक्टर राखेर फिल्म देखाउनुपर्ने अवस्था आउने बताए ।पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली फिल्मलाई विभेद गरिए हल सञ्चालकलाई कालोमोसो समेत दल्नुपर्ने अवस्था आउने चेतावनी दिए ।विदेशी फिल्मलाई बढी शो र नेपाली फिल्मलाई कम शो दिएको आरोप नयाँ होइन । यो आरोपबारे प्रदर्शकले भने उपलब्ध गराइएका शो नै भरिएपछि मात्र थप शो उपलब्ध गराउन सकिने तर्क राख्दै आएका छन् ।पत्रकार सम्मेलनपछि क्यूएफएक्सले ‘प्रकाश’को शोमा वृद्धि गरेको छ ।

कमेन्ट गर्नुहोस्