लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

“बलिउडसंगै विश्व फिल्म यात्रामा प्रेमगीत-३, नेपाली चलचित्रको ढोका खुल्यो

IMG

काठमाडौं । भारतीय चलचित्रका ट्रेड एनालाइसिस्ट तरण आदर्शले हिजो एउटा फिल्मको पोस्टर सार्वजनिक गरे । अक्सर भारतीय चलचित्रका पोस्टर सार्वजनिक गर्ने तरणले योपटक नेपाली चलचित्रको पोस्टर सार्वजनिक गरेका थिए । पोस्टर थियो, ‘प्रेम गीत–३’ को । तरणले पोस्टरसँगै ‘प्रेम गीत–३’ को रिलिज डेट, ट्रेलर रिलिज डेट र कलाकार तथा निर्देशक र निर्माताको नाम उल्लेख गरेका छन् । बलिउड सिनेमा नगरीकै प्रतिष्ठित ट्रेड एनालाइसिस्टले पोस्टर सार्वजनिक मात्र गरेनन्, यसमा आएको प्रतिक्रियाले उनी स्वयं आश्चर्यचकित भएको निर्माता सन्तोष सेनले बताए ।


जी–सिनेमाले अनपेक्षित प्रतिक्रिया आएको जानकारी दिएको सन्तोष बताउँछन् । “चलचित्रको पोस्टर रिलिजपछि जी सिनेमाले अनपेक्षित प्रतिक्रिया पाएपछि सक्केस पार्टी भन्दै हिजो साँझ कक्टेल पार्टी आयोजना गरेको थियो,” मुम्बईमा रहेका सन्तोष भन्छन्, “तरण आदर्शलगायत हाम्रो वितरकहरूले नेपाली सिनेमाको यति धेरै प्रतिक्रियाको अपेक्षा नै नगरेको भन्दै अनपेक्षित फिडब्याक पाइरहेको बताएका छन् ।”बलिउडका सफल फिल्मकर्मी, पत्रकार, बलिउड फिल्मका दर्शकबाट असाध्यै मिठो साथ र सपोर्ट पाएको भन्दै यसले आफूहरूलाई थप उत्साहित बनाएको उनी बताउँछन् । मुम्बईमा रहेका कलाकार प्रदीप खड्का यसलाई अपेक्षा नगरेको आशातित सफलता भन्छन् । “हामीले अहिले जुन सफलता पाइरहेका छौँ, यसलाई म आशातित तर अनपेक्षित सफलता भन्छु,” मुम्बईबाट बाह्रखरीसँग प्रदीपले भने, “हामीले निरन्तर प्रयास गरेका थियौँ । तर, एक्जाम्पल थिएन । यो आशा गरेभन्दा धेरै हो ।”


दशकौँ प्रयास गर्दा पनि नपाएको सफलता आफूहरूले पाइरहेको उनी बताउँछन् । “१२/१५ वर्ष काम गर्दा पनि यहाँ नोटिस हुन कठिन छ । जुन सफलता आज हामीले पाइरहेका छौँ,” प्रदीप अगाडि थप्छन्, “हामीले मुम्बई आएर डेढ वर्षमा सुनेको/भनेको– सजिलो छैन, सकिँदैन, हुँदैन, कठिन छ भन्ने मात्रै सुनेको हो । तर, हामीले जुन प्रयास गर्‍यौँ, सफल भयौँ ।”अब यसलाई थप सफल बनाउने जिम्मेवारी नेपाली दर्शकको काँधमा आइपुगेको उनको भनाइ छ । यसलाई व्यक्तिविशेषको चलचित्रभन्दा पनि नेपालको चलचित्र, नेपाली जनताको चलचित्रका रूपमा बुझेर सहयोेग गर्नुपर्नेमा उनको जोड छ ।“प्रेम गीत–३ ले भारतमा नोपली चलचित्रका लागि ढोका खोल्दियो । अब उघ्रिएको ढोका खोलिराख्ने कि बन्द गर्ने त्यो हामी सबै नेपाली जनताको हातमा छ,” प्रदीप भन्छन्, “प्रेम गीत–३ प्रदीप खड्का र सन्तोष सेनको मात्रै हो भनेर बस्ने कि समग्र नेपालीको चलचित्र हो भनेर बस्ने यसमा नेपाली चलचित्रको भारतमा आफ्नो भाग्य र भविष्य निर्धारण गर्छ ।”


भारतका मुख्य सहरहरूमा नेपाली चलचित्रका होर्डिङ बोर्ड देख्न पाउँदा नेपाली चलचित्र उद्योगले फड्को मार्न सक्ने तर यसका लागि कडा मिहिनेत, संघर्ष र धैर्य भने पहिलो सर्त रहेको सन्तोष बताउँछन् । “हामीले आजसम्म नपाएको सफलता र नयाँ अनुभव सँगालिरहेका छौँ,” सन्तोष भन्छन्, “हाम्रो आफ्नै विषय र कथा भन्न सक्यौँ भने हामी हाम्रा चलचित्र लिएर विदेश जान सक्छौँ ।”हिन्दी भाषामा डब गरिएको चलचित्र आउँदो सेप्टेम्बर २३ मा भारतमा रिलिज हुँदै छ । भारतका ठूला ब्यानरका चलचित्रमा काम गरेका प्राविधिक र डब आर्टिस्टले प्रेम गीत–३ मा डब गरेका छन् ।“बलिउड र हलिउड फिल्मका पोस्टर टाँसिने मुम्बई सहरका स्थान अहिले नेपाली फिल्म प्रेम गीत–३ ले ओगट्दै गर्दा असाध्यै खुसी लागेको छ । म आफ्नै चलचित्र भएर बहकिएको होइन, एउटा नेपाली फिल्मको दर्शकको तर्फबाट सोच्दा पनि यो सामान्य पहलबाट सम्भव हुने विषय होइन,” सन्तोष भन्छन्, “संघर्षका अनेकौँ पहाड छिचोल्दै हामी यति बेला विश्व चलचित्रको समुद्रमा हामफालेका छौँ । म र मेरोे टिमको यो ठूलो साहस हो ।”


नेपाली चलचित्र भारतीय बजारसँगै हिन्दी भाषाका कारण संसारभरका दर्शकसम्म पुग्न लागेको सन्तोष बताउँछन् । नेपालको लोकेसन, नेपालको कथा, नेपालका कलाकार, नेपालकै प्राविधिकको वर्षौँसम्मको मिहिनेत बलिउडसँगै संसारका अत्याधुनिक दर्जनौँ मल्टिप्लेक्समा नयाँ मेनुका रूपमा पुग्न लागेको उनको भनाइ छ ।प्रेम गीत–३ मन पराइएको खण्डमा यसको फाइदा नेपाली चलचित्र क्षेत्रलाई नै हुने उनी बताउँछन् । “साउथ, तमिललगायत चलचित्रले जसरी बलिउड र एसियन फिल्ममा आफ्नो दबदबा सुरु गरेको छ, त्यो सपना हामीले पनि देख्न जरुरी छ । हामी त्यस्तै सपना पछ्याउँदै हिँडेका हौँ,” सन्तोष भन्छन्, “बलिउडले आज प्रेम गीत– ३ मार्फत नेपाली चलचित्रको विश्व यात्राको ढोका खोलिदिएको छ । आशा छ, हामीलाई खोलेको ढोकाको चुकुल कहिल्यै लाग्ने छैन । हामीले अब एकसे एक राम्रा चलचित्रमार्फत यो मार्केटमा लड्नुपर्छ ।”


राम्रा चलचित्रमार्फत भारतमा जानसके भारतीय बजारबाट चलचित्र प्रदर्शनअघि नै लगानी सुरक्षित गरिने उनको बुझाइ छ । ओटीटी  प्लेटफर्ममा मात्र बेच्दा पनि करोडौँ फाइदा हुने सन्तोष बताउँछन् ।नेपाली चलचित्रमार्फत नेपाली पर्यटनको विकासका साथै नेपाललाई विश्व चलत्रिको छायांकनको हब बनाउन सकिनेमा उनको जोड छ ।

आधा शताब्दीभन्दा लामो नेपाली चलचित्रको इतिहास भए पनि भारतीय बजारमा नेपाली चलचित्रको प्रदर्शनमा उल्लेखनीय प्रयास र पहल नहुनु दुःखद भएको सन्तोष सुनाउँछन् । अब भने यो प्रयास सुरु गरिएको र यसमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।


बलिउडका थिएटरमा प्रदर्शनका लागि प्रेम गीत–३ हिन्दीमा डब गरिएको छ । यसका लागि निर्देशक समेत रहेका सन्तोषले ठूलो रकम खर्चिएका छन् । बलिउडका ‘ए’ ग्रेडका प्राविधिक र डब अर्टिस्टलाई काम गराउँदा उनले ठूलो रकम खर्चनुपरेको हो ।साउन्ड, मिक्सिङ, इडिटिङ, कलरलगायत क्षेत्रमा पनि भारतमा पहिलो रोजाइका दक्ष जनशक्तिमार्फत काम गराएको उनले बताएका छन् । भारतका सुपरस्टार अमिताभ बच्चन, सलमान खान, शाहरुख खान, अक्षयकुमारलगायत अभिनेताका चलचित्रमा काम गरेका चलचित्र प्राविधिकलाई लिएर काम गरेको सन्तोष बताउँछन् ।प्रेम गीत–३ मा जस्टिन हुजेले साउन्ड डिजाइन तथा एटमस फाइनल मिक्सिङको काम गरेका छन् । सञ्जय संक्लाले फाइनल इडिटिङ गरेका छन् । अमर मोहिलेलाई ब्याकग्राउन्ड म्युजिकको काम गर्न लगाएका सन्तोषले डीआई र कलर ग्रेडिङको जिम्मा प्रशान्त शर्मालाई दिएका छन् ।


बन्टे नेगीले ट्रेलर पब्लिसिटी डिजाइन गरेको सन्तोषले जानकारी दिए । उनका अनुसार जीतु सिंगले एसएफएक्स र फोलीको काम गरेका छन् ।जस्टिन हुजेले ‘बाजिराओ मस्तानी’, ‘पद्यमावत’, ‘मद्रास क्याफे’, ‘बजरंगी भाइजान’लगायत भारतका चर्चित तथा लोकप्रिय चलचित्रमा काम गरिसकेका छन् ।सञ्जय संक्ला ‘कल हो ना हो’, ‘कुच कुछ होता हे’, ‘कभी खुसी कभी गम’, ‘प्रेम रतन धनपायो’लगायत सफल चलचित्रमा काम गरिसकेका चलचित्र सम्पादक हुन् ।अमर मोहिले ‘चेन्नई एक्सप्रेस’, ‘दिलवाले’, ‘मोहब्बतेइ’, ‘सूर्यवंशी’लगायत चलचित्रका ब्याकग्राउन्ड म्युजिक कम्पोजर हुन् ।


प्रशान्त शर्मा ‘आफते ए इस्क’, ‘टाइम टु डान्स’, ‘तोरबाज’, ‘बहुत हुआ सम्मान’, ‘चमन बहार’लगायत थुप्रै बलिउड चलचित्रमा काम गरिसकेका कलरिस्ट हुन् ।छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रको हिन्दी संस्करणको गीतमा पनि भारतीय गायक/गायिकाले स्वर भरेका छन् ।पाश्र्वगायनमा बलिउडका चर्चित गायक, संगीतकार तथा गीतकार आबद्ध छन् । राहत फतेह अली खानले ‘ये सनम तुही तु...’ बोलको गीतमा आवाज दिएका छन् । अर्को गीत ‘तुम प्यार हो...’ मा अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन् ।डान्स नम्बर ‘मुझ्मे बस जना...’ मा देव नेगी र पलक मुछालले स्वर भरेका छन् । गीतकार कुमार र एम तुराजको लेखन रहेको यो गीतमा अश्लाम केई, एलिस कार्की र कल्यान सिंहले संगीत भरेका छन् ।


प्रेम गीत–३ मा मुख्य भूमिकामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठलगायत छन् ।इम्पोसिबल फिल्म्सले प्रेम गीत–३ को भारतको एमजी साढे तीन करोड भारुमा किनिसकेको छ । सुरुमा भारतमा यो चलचित्रको नाम ‘संघारक’ राखिए पनि अन्ततः प्रेम गीत–३ कै नामबाट प्रदर्शनमा आउन लागेको छ ।

कमेन्ट गर्नुहोस्