
तिलोत्तमा सिटी न्युज, असार १८ गते २०७९। गठबन्धनका शीर्ष नेतासहित प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणमा बारा पुग्नुभएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्राकृतिक श्रोतको कम क्षति हुने गरी अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताउनुभयो । दुईवटा रनवेसहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले कसरी कम क्षतिमा विमानस्थल बनाउन सकिन्छ भनेर विज्ञसँग छलफल भइरहेको बताउनुभयो।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना रहेको भन्दै सर्वोच्च अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको बताउनुभयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउनुपर्ने बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले विमानस्थल बनाउने बाटो खोलेको भन्दै उहाँले प्राकृतिक स्रोत साधनको कम क्षति सहित निजगढमा विमानस्थल बनाउनुपर्ने बताउनुभयो । सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारले अहिलेसम्म गरेका निर्णय विधिसम्मत नभएको भन्दै निर्णय खारेज गरेको छ । तर फैसलामा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने कानुनी व्याख्या गर्दै शीर्ष नेताहरुले निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।
कमेन्ट गर्नुहोस्