लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्टेजमा रचना रिमालको व्यस्तता

IMG

२०७८ मङ्सिर २९ , तिलोत्तमा सिटी।

पछिल्लो समय देशका विभिन्न जिल्लामा मेला-महोत्सव आयोजना भइरहेका छन् । कोरोना महामारी कम भएसँगै शुरु भएका मेला–महोत्सवमा दर्शक-स्रोताले रुचाएका गायक-गायिकाहरुको व्यस्तता बढ्दो छ  । जसमा पछिल्लो पुस्ताकी गायिका रचना रिमाल सर्वाधिक व्यस्त देखिन्छिन् ।‘आज पदमपुर महोत्सवमा सबै आउनुहोला’ गायिका रिमालले बुधबार बिहान फेसबुकमा एक पोष्टर सार्वजनिक गर्दै लेखेकी छन् । यसअघि सांगीतिक कार्यक्रमकै सिलसिलामा दुई पटक दुबई पुगेर फर्किएकी उनी देशभित्रका एक दर्जन बढी स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेकी छन् ।


बुधबार चितवनको पदमपुर महोत्सवमा जाँदै गरेकी रचनासँग स्टेज कार्यक्रमको सेड्युल लामो छ । ‘नवलपुर, झापा, भोजपुर, सिमरा, ढल्केवर लगायतका स्थानमा पुगेर फर्किएँ,’ रचनाले  भनिन्, ‘बिहीबार काठमाडौंमै कार्यक्रम छ । त्यसपछि ताप्लेजुङ, चितवन, बुटवल, गल्कोटमा पनि कार्यक्रम तय भइसकेका छन् ।’कोरोनाको नयाँ भेरियन्ट आउँदैनथ्यो भने उनको व्यस्तता विदेशका कार्यक्रममा पनि शुरु भइसकेको हुन्थ्यो । ‘युरोप टुरको कुरा थियो । तर नयाँ भेरियन्टले तत्काल होलाजस्तो छैन,’ उनले सुनाइन् ।


उसो त उनी स्टुडियोमा पनि सर्वाधिक व्यस्त हुने गायिकामा पर्छिन् । दुई वर्षको अवधि नपुग्दै उनले १ हजार बढी गीत रेकर्ड गराइसकेको जानकारी दिइन् । काठमाडौंमा रहेको समयमा हरेक दिनजसो उनको नयाँ गीत रेकर्डिङ हुने गर्छ । तर, रुघाखोकीका कारण पछिल्लो दुई–तीन दिन रेकर्डिङ नगरेको सुनाइन् । ‘रेकर्डिङ गर्नुपर्ने गीतहरु छन् तर अहिले सञ्चो नभएर दुई–तीन दिन नगरेकी हुँ । अब फेरि गर्नुपर्छ,’ उनी भन्छिन् ।नेपाल आइडल सिजन-३ मा भाग लिएर उत्कृष्ट ८ बाट बाहिरिएपनि उनी गायनमा चम्किँदै गइन् । उनको पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ हो । त्यसयता रचनाका ‘मिनरल वाटर’, ‘पहिलोपल्ट भेट हुँदा’, ‘उनको प्रीति’, ‘भन साइँला’ जस्ता थुप्रै गीतलाई स्रोता–दर्शकले रुचाएका छन् ।

कमेन्ट गर्नुहोस्