
असार १८ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ बाट सम्मानित गरिएको छ । उनलाई संगीतकार संघ नेपालले १ लाख १ सय ११ रुपैंयाँ नगदसहित उक्त सम्मानबाट सम्मानित गरेको हो ।संघका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर सम्मान हस्तान्तरण गरेका हुन् । गायक एवं संगीतकार माणिक रत्नले लामो समयको उपचारपछि अहिले स्वास्थ्यलाभ गरिरहेका छन् ।
कोरोना महामारीका कारण सिर्जित परिस्थिति सामान्य भएपछि विशेष सभा वा कार्यक्रममार्फत सम्मानलाई औपचारिता दिईने संगीतकार संघले जनाएको छ ।वि.सं १९९४ सालमा काठमाडौंको मख्खन टोलमा जन्मिएका माणिकरत्नले २००७ सालमा बालगीतमा स्वर भरेर औपचारिक रुपमा गायन यात्रा सुरु गरेका थिए । उनका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आउ जुन कोठामा राति’जस्ता दर्जनौं गीत लोकप्रिय छन् ।वि.सं २०१३ सालदेखि माणिकरत्नले यसैवर्ष स्वर्गीय प्रेमध्वज प्रधानसँग मिलेर ‘प्रेम माणिक’ नामले थुप्रै गीतमा सहकार्य गरेका थिए । जसमध्ये माणिकरत्नको संगीत, प्रेमध्वजको स्वर रहेको ‘गोरेटो त्यो गाउँको’ लगायतका थुप्रै गीत निकै लोकप्रिय छन् । संगीतकार संघले माणिक रत्नको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
कमेन्ट गर्नुहोस्