
जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी।एक हल गोरु मारेको घटना सेलाउन नपाउँदै फेरी गाई काटेको घटना बाहिर आएको छ । तीन दिन अघि गुल्मीको मालिका गाउँपालिका–२ को पाटाखर्कमा एक हल गोरु घनले हानेर मार्दै काटेर पित्त झिकेको आरोपमा ३ जना पक्राउ परेका थिए । लगत्तै सोही गाउँपालिका–१ लिलिङ्गका दुई जना युवाहरु गाई काटेर मासु खाएको आरोपमा शुक्रबार साँझ पक्राउ परेका छन् । लिलिङ्ग गाउँका २४ वर्षिय रमेश श्रीस र २२ वर्षिय बिमल घर्ती प्रहरीद्वारा पक्राउ परेका हुन्।
जेठ १८ गते राति जङ्गलमा गाई काटेर मासु खाएको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुर्षोतम प्रसाद पाण्डेले जानकारी दिए । त्यस गाउँकी महिला हिरा पुनले २२ दिन अघि ५ हजारमा किनेर ल्याएको गाई छिमेकी कमला बिकको गोठमा बाँधेर राखिएको र त्यस सोही दिन राति जङ्गलमा लगेर काटिएको स्थानीयले बताए ।
मासु काटेर घर –घरमा लगेको र टाउको र छाला गाडेर छाडेको प्रहरीले फेला पारेको छ । घटनामा संलग्न थप मानिसहरु खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै केही दिन अघि एक हल गोरु मारेका एक जना युवा सहित ३ जना नाबालक प्रहरीद्वारा पक्राउ परि सकेका छन् ।
कमेन्ट गर्नुहोस्