
जेष्ठ ७ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी।चलचित्र पत्रकार संघ नेपालले आज ‘२२ औँ वार्षिक उत्सव तथा १९ औँ चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ। संघले फिल्म क्षेत्रसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थितिमा वार्षिक उत्सव मनाएको हो।चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्थिति रहेको थियो।कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनवार, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, समीक्षक समाजका अध्यक्ष दिपेन्द्र लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
वार्षिक उत्सव समारोहमा संघका संस्थापक अध्यक्ष भरत शाक्यले महामारीका बीच संघका सदस्यको आर्थिक र स्वास्थ्य अवस्थालाई मजबुत बनाउँदै फिल्म पत्रकारिताको नयाँ गन्तव्य खोज्नु पर्ने बताए।कार्यक्रममा अधिकांश वक्ताले आगामी दिनमा फिल्म क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा चलचित्र पत्रकारले जोड दिनु पर्ने बताए। संघका अध्यक्ष सिटौलाले फिल्म क्षेत्रलाई चलायमान बनाउन सम्पुर्ण संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताए।विगतका वर्षमा चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम गर्दै आएको थियो। गतवर्ष र यसवर्ष कोरोना महामारीका कारण आयोजना गर्न नसकिएको भन्दै अवस्था सामान्य भएपछि रोकिएको पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने महासचिव समीर बलामीले बताए।त्यसो त चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले सबै देशको परिस्थितिका अनुसार पत्रकार माझ सामाजिक संजालमा शुभकामना राखेर दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको थियो भने , दाङ्ग शाखाका उदय पुनले भर्चुअल अन्तरक्रिया गरि दिवस मनाइएको जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्