लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ज्ञवाली र खाँडबिच संसदमै कडा सवाल जवाफ

IMG

तिलोत्तमा,२०७७ चैत ६ । प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबारको बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूहरु ताजा जनादेशमा खोजे पनि सर्वोच्चको फैसलाले यही संसदबाट समाधान खोज्न आफूहरु बाध्य भएको बताएका छन् ।सरकारको तर्फबाट प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले शुरूआती बैठकले सकारात्मक संकेत नगरेको बताएका छन् । 


सदन शुरू हुनेवित्तिकै अध्यादेशहरू पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि एसिड आक्रमण सम्बन्धी अध्यादेशसमेत पेश गर्न अवरोध गरिएको आरोप ज्ञवालीले लगाए । सर्वोच्च अदालतको दुईवटै फैसलामा सरकारका तर्फबाट आफूहरुले हारे पनि त्यसलाई सहजै स्वीकार गरेको ज्ञवालीको भनाइ छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतले संसद विघटन खारेज गरिसकेको भन्दै प्रधानमन्त्रीले त्यसको नैतिक दायित्व लिएर जवाफ दिनुपर्ने माग गरेको छ ।शुक्रबार दलको प्रतिनिधिका रुपमा कांग्रेसका तर्फबाट बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँडले सर्वोच्च आदालतको फैसलाको स्वागतसमेत गरे।


उनले यो सरकार बनेदेखि नै संविधानमाथि आक्रमण गरेको आरोप लगाए ।सरकार बनेकै दिनदेखि संविधानमाथि प्रहार गरेको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आक्रमण गरेको र जुन स्प्रीटमा हामीले संविधान बनाएका थियौं, त्यसै अनुसार पालना नभएको उनले बताए ।बैठकमा माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सम्बोधन गरेका थिए।बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणबाट अनुपस्थित भएका सांसदको सूचना प्रस्तुत गरेका थिए । यस्तै प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री लिलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन पेश गरे । यस्तै काँग्रेसका नेता एवम् पूर्व सांसद अशोक कोइरालाको ७१ वर्षको उमेरमा भएको निधनप्रति शोकप्रस्ताव पारित गरिएको छ । बैठकमा केही सांसदले समसामयिक विषयमा धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्