
गुल्मी। गुल्मी अस्पतालको नयाँ भवन निर्माण पाँच वर्ष पुग्न लाग्दासमेत सम्पन्न नभएपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेक्का तत्काल तो डेर नयाँ प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार १८ गते सम्झौता भएको भवनको काम पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको छैन। स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै भने, ‘आजै ठेक्का तो डौँ, काम गरेको भुक्तानी दिएर आजै टुंगो लगाउनुस्।’
उक्त ठेक्का बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसँग जोडिएको स्वच्छन्द बानियाँ जेभीले लिएको भन्दै पत्रकारले प्रश्न गरेपछि मन्त्री लम्सालले भने, ‘मुख्यमन्त्री होस् वा जोसुकै होस्, पाँच वर्षसम्म आयोजना अलपत्र पार्नेलाई अब कुर्न सकिँदैन।’उनले ठेकेदार को हो भन्ने आफूलाई सरोकार नभएको भन्दै निर्धारित समयमा आयोजना सम्पन्न हुनुपर्नेमा आफू स्पष्ट रहेको बताए। निर्माणमा भएको ढिलाइ कुनै हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।२५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ लागतमा निर्माण भइरहेको पाँचतले भवन २०८० असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य थियो। हालसम्म भौतिक प्रगति ९२ प्रतिशतभन्दा बढी पुगे पनि करिब ६ करोड रुपैयाँ बराबरको काम अझै बाँकी छ।
भवनमा अहिले पेन्टिङ, वायरिङ र आल्मुनियम जडानलगायतका काम भइरहेका छन्। भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको आयोजना कार्यान्वयन इकाईमार्फत भवन निर्माणका लागि बजेट उपलब्ध गराइएको हो।भवन निर्माणमा ढिलाइ हुँदा गुल्मी अस्पताल अझै पुरानै साँघुरो भवनबाट सेवा दिन बाध्य छ। पर्याप्त शय्या, वार्ड र पूर्वाधारको अभावमा बिरामी तथा स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छन्।नयाँ भवन सञ्चालनमा आएपछि ओपिडी, आपत्कालीन, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्स–रे तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना छ। थप शय्या व्यवस्थापनसँगै आइसियु तथा मेडिकल, सर्जिकल र बाल उपचारका छुट्टाछुट्टै कक्ष सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।
गुल्मी अस्पताल २०७१ सालमै ५० शय्यामा स्तरोन्नति भए पनि आवश्यक भौतिक पूर्वाधारको अभावमा सोहीअनुसार सेवा विस्तार हुन सकेको छैन। नयाँ भवन निर्माणमा भइरहेको ढिलाइले जिल्लावासीले सुविधा सम्पन्न अस्पतालबाट सेवा पाउने समय थप लम्बिएको छ।
कमेन्ट गर्नुहोस्