लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माघभित्रै रेलसेवा संचालन हुने कम्पनीको दाबी

IMG

पौष २३ , २०७७, तिलोत्तमा । दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ। सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेशन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुई वटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । भारतबाट खरिद गरिएको दुई वटा रेल अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेशनमा थन्क्याएर राखिएको छ ।    


यसरी पटकपटक विभिन्न मिति तोकिए पनि रेल सेवा सञ्चालन हुन सक्दा सर्वसाधारणले अहिले रेल्वे कम्पनीले माघभित्र सञ्चालनमा आउने बताउँदै गर्दा स्थानीयले अब सञ्चालन भई रेल गुडेको नदेखेसम्म विश्वास गर्न नसकिने बताउँछन् ।जनकपुरधामस्थित रेल्वे स्टेशन रोडमा ल्यापटपमर्मत पसल सञ्चालन गर्दै आएका उमेश महतोले भने, 'रेल सेवा सुरु भएपछि भारतबाट रिपेयर पार्ट ल्याउन सजिलो हुने हिसाबले स्टेशन रोडमा एक वर्षअघि पसल राखेँ तर अहिलेसम्म रेल सञ्चालन हुन सकेको छैन । पटकपटक तोकिएको मितिमा रेल सञ्चालन नभएसम्म विश्वास गर्न सकिँदैन ।'


लामो समयदेखि रेल सञ्चालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल सञ्चालन हुन नसकेको अवस्थामा पछिल्लो पटक नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले यहि माघभित्र जसरी पनि सञ्चालनका ल्याउने दाबी गरे । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क हुन सकेका छैनन् ।महाप्रबन्धक भट्टराईले आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन् । उनले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए ।


भट्टराईले भने, 'प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जिटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्त रुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ ।' उनले रेल इञ्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको जानकारी दिए ।


उनले नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको बताए। त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उनको भनाइ छ । सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिब ५० जना कर्मचारीलाई छ महिनाका लागि करारमा नियुक्त गरेर तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जनाए ।महाप्रबन्धक भट्टराईले रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाकोसमेत मर्मतसम्भारको काम लगभग पूरा भइसकेको बताए । उनले रेल सञ्चालनका लागि आवश्यकपर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको बताए ।

कमेन्ट गर्नुहोस्