
नारायणपुर । घोराही उपमहानगरपालिका-१० नारायणपुरका किसान रामसिंह चौधरी यस वर्ष धेरै खुसी देखिन्छन् । धान स्याहार्दै गरेका चौधरी विगतका वर्षभन्दा धेरै धान फलेकामा खुसी देखिएका हुन् ।आफ्नै १५ कट्ठामा लगाएको धान यसपालि कट्ठामा चार मुरीको दरले फलेको छ । “पोहर, परार कट्ठामा तीन मुरी मात्रै फल्ने गर्थ्यो यो वर्ष धेरै उब्जनी भयो खुसी लागेको छ”, चौधरीले भने ।त्यस्तै, घोराही-५ का किसान देवीराम आचार्य पनि विगतका वर्षभन्दा यो वर्ष धान धेरै उत्पादन भएको खुसी छन् । उनले १० कट्ठामा लगाएको धान पनि चार मुरीकै दरले फलेको छ ।सिँचाइकै समस्याले दिक्क भएका आचार्यलाई यसपालि मौसमले खुबै साथ दियो । “जसोतसो रासायनिक मलको जोहो पनि अभाव हुनुभन्दा पहिल्यै गरिसकेको, मौषम र मिहिनेत पनि यस वर्ष कोरोनाले गर्दा दिन पाइयो र उत्पादन बढ्यो”, आचार्यले भने । गाउँका कसैकसैले युएस ३१२ जातको हाइब्रिड धान कट्ठामा पाँच मुरीसम्म फलाएको उनले सुनाए ।
कोरोनाले व्यापार-व्यवसाय चौपट बनायो, अर्थतन्त्र तहस-नहस भयो, तर कृषि अर्थतन्त्र भने आत्मनिर्भरको अवस्थामा पुग्ने धान उत्पादनले देखाएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । “दाङ कृषिमा पहिले पनि आत्मनिर्भर नै थियो, तर यसपालि बिक्री गर्ने हैसियतमा पुगेको हाम्रो अनुमान छ”, कृषि ज्ञान केन्द्र घोराहीका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले भने ।अहिले उत्पादन बढेको भए पनि जिल्लाको उत्पादनलाई अझै केही वृद्धि गर्न सकिने अवस्था रहेको उनले बताए । समयमा पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्थापन र वर्षात् नभएको अवस्थामा पनि नियमित सिचाइँको व्यवस्थापन गर्न सके यहाँ धानबालीको प्रशस्तै सम्भावना रहेको उनको भनाइ छ ।कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार अघिल्लो वर्ष दाङमा ३७ हजार ७ सय १० हेक्टरमा धानखेती भएको थियो । त्यसमा एक लाख ६९ हजार ६ सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष दाङमा धानबाली लगाउने जग्गाको क्षेत्रफल बढेसँगै उत्पादन पनि अपेक्षित रुपमा वृद्धि भएको अनुमान ज्ञान केन्द्रले गरेको छ ।
यो वर्ष उपयुक्त समयमा पानी पर्नु र कृषि जनशक्तिको अभाव नहुनुले पनि धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । कार्यालयले तयार गरेको तथ्याङ्कमा यो वर्ष करिब ७ सय ८७ हेक्टर थप क्षेत्रमा धानबाली लगाइएको थियो । “यो वर्ष धेरै एरिया बढेको छ, बाँझो जग्गा प्रयोगमा आएको थियो, पक्कै उत्पादन बढेको छ”, कृषि अर्थविज्ञ श्रेष्ठले भने । अहिलेसम्म पालिकाले दिएको तथ्याङ्कलाई हेर्दा अनुमानित एक लाख ८० हजार मेट्रिक टन धान उत्पादन हुने देखिएको श्रेष्ठको भनाइ छ ।यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा यस वर्ष प्रमुख अन्नबाली धानको उत्पादनमा ह्रास आएको छ । बाढी, मलबीउको अभाव, लगातारको वर्षालगायत कारणले यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आएको कृषकले बताएका छन् । धान रोप्ने बेला पर्याप्त पानी परेकाले खुसी भएका कृषक अहिले भने उत्पादन घटेपछि चिन्तित भएका छन् ।यस वर्ष जिल्लामा करिब ३० प्रतिशतले धान उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्राले जानकारी दिए । विशेषगरी सरावल र पाल्हीनन्दन गाउँपालिकामा धान उत्पादनमा भारी गिरावट आएको उनले बताए ।
पश्चिम नवलपरासीमा २१ हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लाभर ९० हजार ३ सय ५४ मेट्रिक टन धान उत्पादन भएको बताउँदै केन्द्र प्रमुख मिश्राले भने, “बाढीले डुबाउँदा धेरै धान सखाप भयो, बन्दाबन्दीका कारण कृषकले समयमा मल बीउ पाउन सकेनन् र धानमा दाना लाग्ने बेलामा वर्षा हुँदा परागशेचनमा अवरोध हुन गई धान उत्पादनमा ठूलो गिरावट आएको छ ।” जिल्लामा सुरुमा करिब १५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिए पनि ३० प्रतिशतसम्म ह्रास आउने देखिएको उनको भनाइ छ ।रामग्राम नगरपालिका, सरावल, प्रतापपुर गाउँपालिकालगायत जिल्लाभर नै उल्लेख्य मात्रामा धान उत्पादन हुने गरेको छ । सरावल-६ र ७ मा करीब एक हजार ५ सय बिघा धानखेती बाढीले डुबाएको थियो भने पाल्हीनन्दन-१ र ६ मा गरी ६ सय बिघाभन्दा बढी धानखेती डुबाएको थियो । बाढीले डुबाएको धान पूरै नष्ट भएको पाल्हीनन्दन-१ का कृषक धनपाल चौधरीले बताए । “मैले पाँच बिघामा धान लगाएको थिएँ, गाउँभरि ४ सय बिघामा धान लगाइएको तर तीन पटकसम्म आएको बाढीले सबै सखाप पा¥यो”, उनले भने ।
बाढीले क्षति नपुर्याएका स्थानमा पनि लगातारको झरीका कारण ५० प्रतिशतसम्म कमी आएको कृषकले बताएका छन् । धान पसाउने बेलामा खैरा रोगले समेत कृषकलाई सताएको थियो । दुई बिघामा धानखेती गरेका सरावल-३ गोइनीका हरिलाल यादवले यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले धान उत्पादन घटेको बताए । धानको बाला लाग्ने समयमा पटकपटक आएको बर्सातको पानीका कारण उत्पादन घटेको उनको भनाइ छ ।धान उत्पादनमा ठूलो गिरावट आएपछि कृषक चिन्तामा परेको कृषक हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्याय बताउँछन् । “मैले पनि एक बिघा आठ कट्ठामा धान लगाएको थिएँ, तर पानीले ढल्दा धान राम्रोसँग पाक्न सकेन, उत्पादनमा ३० प्रतिशतले ह्रास आएको छ”, उनले भने ।जिल्लाका अधिकांश कृषकको प्रमुख आयस्रोत धानबाली नै हो । बाढीले धानबाली नष्ट गर्दा पनि स्थानीय तहबाट राहत पाउन नसकेको कृषकको गुनासो छ । बाढी र डुबानको समस्या वर्षौँदेखिको भए पनि कृषकलाई राहत दिने विषयमा स्थानीय तहसँग पूर्वतयारी नभएका कारण राहत दिन नसकिएको जनाएका छन् ।
सरावल गाउँपालिकाले धानमा राहत दिन नसके पनि प्रभावित क्षेत्रका कृषकलाई गहुँमा ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । गहुँको उत्पादन बढाएर कृषकलाई राहत पु¥याउने उद्देश्यले बीउबिजन तालीमलगायत प्रबन्ध गर्न लागिएको बताउँदै उनले भने, “यस पटक धानमा धेरै क्षति पुगेको छ, ६ र ७ नम्बर वडामा बाढीले डुबाएका कारण धान नै हुन सकेन, अन्य वडामा पनि धान काट्ने बेलामा आएका हावाहुरी र पानीले क्षति पुर्यायो ।”पाल्हीनन्दन गाउँपालिकाले पनि गहुँमा अनुदान दिने भएको छ । धानमा क्षति व्यहोरेका कृषकलाई गहुँबाट राहत पुर्याउने गरी गाउँपालिकाले पहल थालेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले बताए ।
गहुँबालीको उत्पादन बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन लागिएको उनले उल्लेख गरे । पर्याप्त पानी परेका कारण यस वर्ष कृषकले समयमै धान रोपेका थिए । अहिले अधिकांश कृषकले धान भित्र्याइसकेका छन् । जिल्लामा रामधान, सावा मन्सुली, राधा ४ लगायत जातका धान लगाउने गरिन्छ । रासस
कमेन्ट गर्नुहोस्