लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाको दैनिक प्रेस ब्रिफिङ फेसबूकबाट लाइभ गर्न साढे १० लाख रुपैयाँ खर्च

tillotmacitynews - 2020 Oct 31 08:23 PM
IMG

मुलुकमा कोरोनाभाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० चैत २०७६ देखि दैनिक रूपमा पत्रकार सम्मेलन गरेर टेलिभिजन र आफ्नो फेसबूक पेज मार्फत प्रत्यक्ष प्रसारण शुरु ग¥यो। मन्त्रालयले कोेरोना संक्रमणको ताजा अवस्था सार्वजनिक गर्न हरेक दिउँसो सवा ४ बजे प्रेस ब्रिफिङ शुरु गरेको थियो। नियमित प्रेस ब्रिफिङ शुरु गएको तीन महीना अर्थात् २५ जेठसम्म मन्त्रालयका तत्कालीन प्रवक्ता डा. विकास देवकोटा प्रत्यक्ष प्रसारणमा उपस्थित हुने गरेका थिए। जिम्मेवारी हेरफेर भएसँगै त्यसयता डा. जागेश्वर गौतमले ब्रिफिङ गर्दै आएका छन्।दशैं शुरु भएपछि प्रत्यक्ष प्रसारण केही दिन रोकेको मन्त्रालयले अबदेखि कोरोना ब्रिफिङ साताको दुई दिन मात्र गर्ने भएको छ। १२ कात्तिकमा मन्त्रालयका प्रवक्ता डा. गौतमले अबदेखि आइतबार र बुधबार मात्र प्रेस ब्रिफिङ हुने जानकारी दिए। यद्यपि मन्त्रालयबाट हरेक दिन दिउँसो साढे ४ बजे वेबसाइट, सामाजिक सञ्जाल तथा भाइबरको माध्यमबाट सूचना सार्वजनिक गर्ने क्रम भने यथावत् रहनेछ।


स्वास्थ्य मन्त्रालयले कोरोना ब्रिफिङको प्रत्यक्ष प्रसारण आफ्नो फेसबूक पेजका साथै नेपाल टेलिभिजन र रेडियो नेपालबाट पनि गर्ने व्यवस्था मिलाउँदै आएको छ। प्रेस ब्रिफिङ मार्फत मन्त्रालयले कोरोना संक्रमणको विश्वव्यापी अवस्थासँगै नेपालमा दैनिक कोराना संक्रमित तथा संक्रमणमुक्त हुनेको विवरण, सक्रिय संक्रमित, कोरोनाका सिकिस्त बिरामीको संख्या, मृत्यु हुनेको तथ्यांक प्रवक्ता मार्फत जानकारी दिंदै आएको छ। यस्तै, संक्रमणबाट बच्ने उपायसँगै के कसरी सावधानी अपनाउने भन्ने बारेमा पनि मन्त्रालयले यही ब्रिफिङमा जानकारी दिने गरेको छ। जसमा विभिन्न विज्ञहरुलाई पनि उपस्थित गराइन्छ। स्वास्थ्य मन्त्रालयले यसअघि यसरी नियमित रुपमा प्रेस ब्रिफिङ गरेको थिएन। २०७२ सालको विनाशकारी भूकम्पका बेला पनि सरकारले यस्तो अभ्यास गरेको थिएन। त्यसबेला सामाजिक सञ्जाल तथा इमेल मार्फत दैनिक बुलेटिन सार्वजनिक गर्ने गरिएको थियो। यसरि गरिने लाइभका खर्चका बारेमा खोजी गर्दा स्वास्थ्य मन्त्रालयले फेसबूक मार्फत गरिरहेको कोरोना ब्रिफिङमा दिनको कम्तीमा रु. ५ हजार खर्च हुने गरेको पाइएको छ। १० चैत २०७६ देखि १० कात्तिकसम्मको सात महीनामा फेसबूकबाट लाइभ गर्न मात्र साढे १० लाख रुपैयाँ खर्च भएको देखिन्छ। तर, कोरोना महामारीका बेला मानिसहरुले सूचना आदानप्रदान गर्ने मुख्य माध्यम फेसबूक बनाएकाले मन्त्रालयले यसैबाट दैनिक प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले बताए। कोरोनाबारे विभिन्न माध्यमबाट गलत सूचना नजाओस् भनेर आधिकारिक सूचना सम्प्रेषणका लागि प्रत्यक्ष प्रसारण गरेको मन्त्रालयले जनाएको छ। 


तिवारीका अनुसार, मन्त्रालयका तर्फबाट दैनिक प्रेस ब्रिफिङको काम स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विशेष सहयोग लिएर आफू र स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको पहलमा शुरु भएको हो। मन्त्रालयले गरिरहेको प्रेस ब्रिफिङ कार्यक्रमको खर्च कति भइरहेको छ, र यो काम कसले गरिरहेको छ त ? यसबारे अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन। तर गत १० चैत २०७६ देखि १० कात्तिकसम्मको सात महीनामा फेसबूकबाट लाइभ गर्न मात्र साढे १० लाख रुपैयाँ खर्च भएको देखिन्छ। खर्च विवरणबारे बुझ्न सम्पर्क गर्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम, सह–प्रवक्ता सह–प्रवक्ता डा. समिर अधिकारी र विज्ञ सल्लाहकार डा. खेम कार्कीले फोन उठाएनन्। स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार तिवारीले २०७६ चैतदेखि नै नेपाल टेलिभिजन र फेसबूकबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको बताए। नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टको सहयोग लिएर टेलिभिजनबाट निःशुल्क रुपमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाएको उनले बताए। 


तिवारीले फेसबूकबाट लाइभ गर्न भने विष्टका भाइ अर्जुन विष्टलाई जिम्मा दिइएको बताए। अर्जुन विष्टले आहा मिडिया एण्ड इभेन्ट नामको कम्पनी मार्फत फेसबूकबाट कोरोना ब्रिफिङको लाइभ गर्दै आएका छन्। 

कमेन्ट गर्नुहोस्