लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्रम्प र बाइडनको चुनावी एजेण्डा : चीन मामिलामा एकै ठाउँमा

IMG

१२ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी छ । नोभेम्बर ३ मा हुन गइरहेको यो निर्वाचनले समग्र विश्वको ध्यान केन्द्रित गरेको छ ।निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडन चुनावी मैदानमा छन् ।निर्वाचन कसले जित्छ भन्नेम धेरैको चासो छ किनकी उनीहरुले बोकेका मुद्धामा धेरै अन्तर छ । यद्यपि चीनको मुद्दामा भने उनीहरु एकै ठाउँमा छन् । अर्थात, जसले जितेपनि अमेरिकाको चीन नीतिमा भने धेरै फरक आउने देखिँदैन ।ट्रम्पले अमेरिकाको नेतृत्व सम्हालेपछिको चार बर्षको अबधिमा अमेरिकाको चीनसँगको सम्बन्ध कमजोर विन्दुमा पुग्यो । तर आगामी निर्वाचन बाइडनले जिते पनि चीनप्रतिको नीतिमा भने खासै अन्तर नआउने देखिएको छ । यद्यपि निर्वाचनमा चीनले ट्रम्पलाई भन्दा बाइडनलाई रुचाएको पाइन्छ ।


अहिले चीन र अमेरिकाको बीचमा कोभिड–१९, प्रविधि, व्यापार, सुरक्षा र जासुसी, प्रविधिका विषयमा द्वन्द्व चर्केको छ । साथै, हङकङ, ताइवान नीति र सिन्चियाङ र तिब्बतका धार्मिक तथा आध्यात्मिक अल्पसंख्यकको मानव अधिकारका विषयमा पनि दुई मुलुकको बीचमा विवाद छ ।पछिल्लो केही समययता अमेरिकामा पनि चीनविरोधी भावना बढेको छ । गत मार्च महिनामा पेउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा सहभागी दुई तिहाइले चीनको विषयमा नकारात्मक धारणा व्यक्त गरेका थिए ।अमेरिकन इन्टरप्राइजेज इन्स्टिच्युटका डेरेक स्किसोर्स बाइडनले चीनप्रति धेरै लचिलो नीति अपनाए उनले ठूलो नोक्सानीको सामना गर्नुपर्ने बताउँछन् ।बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटीका प्राध्यापक यु वान्ली भन्छन्, ‘कम्तिमा बाइडनको नीति ट्रम्पको जस्तो हास्यास्पद र भानात्मक भने हुने छैन ।’ बेइजिङको रेनमिन युनिभर्सिटीका शी यिनहोङका अनुसार डेमोक्रेट्सहरु सैन्य द्वन्द्व चाहँदैनन् । साथै उनीहरुले संकट व्यवस्थापनको क्षेत्रमा चीनसँग राम्रो समन्वय गर्नेछन् । त्यसैले चीनलाई बाइडन आएको खण्डमा केही सहयोग पुग्ने उनको भनाइ छ ।


ट्रम्प आएपछि चीनबाट आउने अधिकांश सामग्रीमाथि अमेरिकामा भन्सार शुल्क बढाइएको छ । ‘बाइडनले जिते चिनियाँ सामग्रीमा लगाइएको अतिरिक्त कर बिस्तारै हट्दै जानेछ’, युरासिया ग्रुपका माइकल हिर्सनको भनाइ छ ।सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका सीईओ रिचार्ड फन्टेनका अनुसार बाइडनले चिनियाँ सामग्रीमा लगाइएको करमाथि पुनरावलोकन गर्नेछन् तर उनीसँग विशिष्ट योजना पनि हुनेछ ।उनले व्यापार र प्रविधिको मामिलामा नयाँ किसिमको नीति ल्याउन सक्ने फन्टेनको भनाइ छ । अहिले ट्रम्पले अमेरिकाको भटमास र अटो खरिद बढाउन दबाब दिँदै चीनसँगको व्यापार घाटा कम गर्ने जस्तो प्रयास नगरे पनि बाइडनले बौद्धिक सम्पत्ति चोरीको सम्झौता गर्दै दुई मुलुकको समस्या सुल्झाउन सक्ने फन्टेनको बुझाइ छ ।यस अघि बाराक ओबामाको प्रशासनले पनि मानव अधिकारको मुद्दामा चीनलाई दबाब दिएको थियो । त्यसैले बाइडन अमेरिकाको सत्तामा आए मानव अधिकारको मुद्दा झन् चर्किने सम्भावना छ ।


यद्यपि बाइडनले आगामी निर्वाचनमा जित हात पारेमा केही क्षेत्रमा भने चीनलाई फाइदा हुनेछ । बाइडन जलवायु परिवर्तन, उत्तर कोरिया, इरान र कोभिड–१९ को समस्या चीनसँगको सहकार्यमा समाधान गर्न सकिन्छ भन्ने पक्षमा छन् । त्यसैले यी कुरामा भने चीनलाई बाइडनको आगमन सुखद् हुनसक्छ ।बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटीका प्राध्यापक वान्ली भने केही चिनियाँ अझै पनि ट्रम्पलाई नै रुचाउने बताउँछन् । उनकाअनुसार ट्रम्पले अमेरिकालाई गलत बाटोमा हिँडाइ चीनलाई विश्वको नेतृत्व गर्ने मौका दिइरहेको केहीको बुझाइ छ ।मानव अधिकारको मामिलामा धेरै चासो नदिनु, नेटोका सदस्यहरुसँगको विवाद र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)जस्ता महत्वपूर्ण संस्थाबाट अलग्गिनुलाई विश्व नेतृत्वमा अमेरिकाको आत्मसमर्पणको रुपमा हेरिएको छ ।त्यसका साथै कोभिड–१९ लाई राम्रोसँग व्यवस्थापन गर्न नसक्नु र अमेरिकामा दर्जा र वर्णको विषयमा तनाव बढ्नु चीनलाई ‘ट्रम्पको उपहार’ बन्न पुगेको केही कूटनीतिक विश्लेषकको भनाइ छ ।

स्रोतः एपी, सीएनबीसी

कमेन्ट गर्नुहोस्