लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देउवा,प्रचण्ड,नेपाल भन्छन :

IMG

तिलोत्तमा, कार्तिक ६ गते २०७७। प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग देउवाको भेटवार्ता नभएको बताएको छ ।रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु देउवाले रअ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पारेका हुन् ।


त्यसो त, सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको  सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ ।विहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका युवा संघका नेता रामप्रसाद सापकोटा दीपशिखाले अनलाइनखबरसँग भने, ‘अध्यक्षले भारतीय गुप्तचर प्रमुखलाई भेट्नु न परैजाओस्, उनी काठमाडौं आएकै हुन् कि होइनन् भनेर अहिलेसम्म भेरिफाई गरिरहनुभएको छ । उहाँलाई भारतीय गुप्तचर प्रमुख काठमाडौं आएको थाहै छैन ।’प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको बताए ।


भारतीय गुप्तचरको आगमनबारे प्रचण्ड सचिवालय अनभिज्ञता यदि सही हो भने यो भ्रमणबारे प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी सचिवालयमा कुनै पनि छलफल वा पूर्वजानकारी नदिएको देखिन्छ ।नेकपाको गत स्थायी कमिटी बैठकले पार्टी र सरकार सञ्चालन दुई अध्यक्षवीचको सरसल्लाहमा गर्ने भनिएको थियो ।पछिल्लो समय भारतसँग सीमा विवाद चर्कंदै गएका बेला नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले नै नेपाल सरकारले नक्शा जारी गर्नुपर्ने निर्णय गराएका थिए । पार्टीको सो निर्णयपछि सरकारले नक्सा जारी गरेको थियो । तर, पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा ओली पक्षका कार्यकर्ताहरुले प्रचण्डलाई ‘भारतीय दलाल’ समेत भन्ने गरेका थिए ।तर, अहिले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरलाई नेपाल निम्त्याउँदा पार्टीमा कुनै सल्लाह नै नगरेको प्रचण्डका निकटस्थहरु बताउँछन् ।प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले प्रेस नोट नै जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।रअका प्रमुख गोयल र प्रचण्डवीच भेट भएको भन्ने कतिपय सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्ने सापकोटाले भनेका छन्, ‘सम्वेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’


यो संगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग नभेटेको बताएका छन् ।वरिष्ठ नेता नेपालले गोयलसँग आफ्नो भेटबारे आएका समाचार भ्रामक र झुठो रहेको उल्लेख गरेका छन् । टि्वटरमा उनले लेखेका छन्, ‘लेखिएको छ, ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबचि भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

कमेन्ट गर्नुहोस्